काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतमा उत्पादित प्रियागोल्ड (PRIYAGOLD) बिस्कुटको नेपालमा पैठारी स्वीकृति, प्रवेश अनुमति तथा बिक्री वितरणमा रोक लगाएको छ।
विभागले बजारमा बिक्रीका लागि पठाइएका उक्त ब्रान्डका सबै ब्याचका बिस्कुट तत्काल फिर्ता (प्रोडक्ट रिकलब्याक) गर्नसमेत निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३ असोज १ गते जारी गरेको सूचनाअनुसार भारतको सूर्य फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने प्रियागोल्ड बिस्कुटमा गम्भीर खाद्य सुरक्षा मापदण्ड उल्लङ्घन भएको पाइएपछि यस्तो निर्णय भएको हो।
भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (FSSAI) ले २०२६ अक्टोबर १७ मा जारी गरेको सूचनामा बिस्कुट उत्पादनमा प्रयोग हुने गाईवस्तुको दानाका लागि प्रयोग गरिने चोकर (Cattle-Feed Bran) लाई रेसा/फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको उल्लेख छ।
उक्त चोकर राखिएका बोरामा मानव उपभोगका लागि नभएर `गाई वस्तुको दानाका लागि´ भनेर स्पष्ट उल्लेख भए पनि त्यसलाई बिस्कुट उत्पादनमा प्रयोग गरिएको पाइएको विभागले जनाएको छ।
त्यसैगरी, कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा कारखाना परिसरको उचित मर्मतसम्भारलगायत विषयमा समेत गम्भीर कमजोरी भेटिएको र पालना गर्नु पर्ने मापदण्डको गम्भीर उल्लंघन गृएको सूचनामा उल्लेख छ।
यी उल्लङ्घनका कारण भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले सम्बन्धित कम्पनीको इजाजतपत्र निलम्बन गरी अभियोजनको कारबाही प्रक्रिया अघि बढाउन स्वीकृति दिएको जनाइएको छ।
सोही आधारमा नेपालमा पनि उक्त कम्पनीबाट उत्पादित प्रियागोल्ड बिस्कुटलगायतका बिस्कुटजन्य उत्पादनको पैठारी स्वीकृति स्थगित गरिएको विभागले जनाएको छ।
विभागको निर्णयअनुसार अर्को आदेश नभएसम्म प्रियागोल्ड बिस्कुटको पैठारी तथा प्रवेश अनुमति र नेपालमा पैठारी भइसकेका बिस्कुटको पनि बिक्री वितरणमा रोक लगाइएको हो।
विभागले सम्बन्धित आधिकारिक पैठारीकर्ता तथा खाद्य व्यवसायीलाई बजारमा रहेका उक्त बिस्कुटको बिक्री वितरण नगर्न, तत्काल फिर्ता गरी सुरक्षित रूपमा संकलन तथा अभिलेखीकरण गर्न निर्देशन दिएको छ।
बजारबाट फिर्ता गरिएका उत्पादन नष्ट गर्नुपर्ने अवस्था आएमा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक कर्मचारीको रोहवरमा नष्ट गरी विभागलाई जानकारी गराउनसमेत भनिएको छ।
निर्देशनको अवज्ञा गरी खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुन उल्लङ्घन गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।





