मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गर्भावस्थाको नियमित परिक्षण गराउन पुर्याइएकी महिलाको शल्यक्रियापछि दुवै मिर्गौला फेल

गर्भावस्थाको नियमित परिक्षण गराउन पुर्याइएकी महिलाको शल्यक्रियापछि दुवै मिर्गौला फेल

चिकित्सक भन्छन् लापरबाही गरेका छैनौं

images
२०८३ आश्विन १४ गते, बुधवार
२०८३ आश्विन १४ गते, बुधवार
  • वीरगन्ज। वीरगन्जस्थित सुर्या हस्पिटल प्रा.लि.मा गर्भावस्थाको नियमित परिक्षण गराउन पुर्याइएकी एक महिलाको उपचारका क्रममा मिर्गौलामा समस्या देखिएपछि तनाब उत्पन्न भएको छ।

    images

    सो अस्पतालमा नियमित स्वास्थ्य परिक्षण गराउन ल्याइएकी एक महिलाको गलत औषधिको प्रयोगले दुवै मिर्गौलामा समस्या भएको भन्दै बिरामीका परिवार तथा आफन्तले उपचार प्रक्रियामाथि प्रश्न उठाउँदै आक्रोश पोखेका छन्। परिवारजनले अस्पतालमा कार्यरत डा. मोनिका यादवको लापरवाहीका कारण बिरामीको दुवै मिर्गौला फेल भएको आरोपसमेत लगाएका छन्।

    images

    रौतहट जिल्लाको यमुनामाई गाउँपालिका - ४ निवासी ती महिलालाई गत बिहीबार नियमित गर्भावस्था जाँचका लागि अस्पताल पुर्याइएको थियो। सो क्रममा ती महिलाको भिडियो एक्सरे गरिएको थियो। भिडियो एक्सरेपछि चिकित्सकले बच्चालाई अक्सिजन कम भएको भन्दै बिरामीलाई निगरानीमा राख्नु पर्ने हुँदा अस्पतालमा वा नजिकै आफन्तकोमा बस्न सुझाएका थिए।

    सो क्रममा बिरामी पक्षले अस्पतालमा नै बसेर उपचार प्रक्रियामा अगाडि बढ्ने निर्णय गरेपछि ती महिलालाई भर्ना गरिएको बिरामीका आफन्तले एक्सरे नेपाललाई जानकारी दिए। 

    बिरामी भर्ना भएपछि बिरामीको ब्लड प्रेसर वा अन्य कुनै जाँच नगरी तीन दिन निगरानीमा राख्ने बताइएको थियो।सो क्रममा हातमा क्यानोला दिने तयारी चिकित्सक पक्षले गरेका थिए। त्यस क्रममा बिरामीलाई असहज भएपछि तत्काल शल्यक्रिया गर्नु पर्ने भन्दै आफन्तलाई तयार रहन भनिएको थियो।

    `नियमित स्वास्थ्य जाँचका लागि हामीले बिरामीलाई अस्पतालमा पुर्याएका थियौं, सो क्रममा भिडियो एक्सरे गरियो, त्यसपछि बच्चालाई अक्सिजन कम भएको भनिएपछि अस्पताल वा आफन्तकोमा नजिकै बस्न चिकित्सकले सुझाए, हामी अस्पतालमा नै बस्ने र उपचार प्रक्रियामा अगाडि बढ्ने निर्णयमा पुगेपछि भर्ना गरेर राखियो, तर सामान्य ब्लड प्रेसर र कुनै जाँचसम्म गरिएन, तीन दिन निगरानीमा राख्ने भनिएकोमा एक्कासी हातमा क्यानोला लगाउन खोज्दा बिरामीलाई असहज भयो र तत्काल शल्यक्रिया हुने जानकारी दिइयो।´ सिंहले एक्सरे नेपालसँग घटनाबारे जानकारी दिंदै भने।

    अस्पतालमा उपचारमा संलग्न चिकित्सक डा. मोनिका यादवले भने बिरामीलाई शल्यक्रिया गर्दा दिइएको औषधिले असर गरेको हुनसक्ने बताइन्। उनले बिरामीलाई औषधिको `एक्युड एनाफाइलाक्सिस रियाक्सन´ भएको बताइन्।

    डा. यादवले शल्यक्रियाका क्रममा कुनै पनि लापरबाही नभएको भन्दै बिरामीको ज्यानलाई जोखिममा पर्न नदिन र बच्चालाई जोगाउन अस्पताल पक्षले हरसम्भव प्रयास गरेको जानकारी दिइन्। डा. यादवले घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन नै आयोजना गरेकी थिइन्। सो क्रममा उनले उपचारका सम्पूर्ण कागजात अनुसन्धानका लागि उपलब्ध गराउन आफू तयार रहेको पनि बताइन्।

    बिरामीका श्रीमान् विश्वनाथ सिंहका अनुसार पत्नीलाई चिकित्सकले सुत्केरी हुन दिएको समय भन्दा तीन साता अघि नै अस्पताल ल्याइएको थियो। सिंहका अनुसार उनले श्रीमतीलाई गत बिहीबार दिउँसो सुर्या अस्पतालमा पुर्याएका थिए भने साँझ शल्यक्रिया गरिएको थियो।

    बिरामीका आफन्त सिंहले शल्यक्रिया गर्दासमेत दुई पटक पेटमा चिरिएको जानकारी दिए।

    `शल्यक्रिया त एकपटक गरिन्छ, दुई पटक किन पेट खोलियो?, किन उपचारमा लापरबाही गरियो?´ उनले प्रश्न गर्दै भने।

    सिंहले शल्यक्रियापछि बिरामीको मिर्गौलामा समस्या भएको जानकारी अस्पताल पक्षले आफुहरुलाई गराएकोसमेत बताए। त्यसपछि शुर शनिबार मिर्गौलाको डायलाइसिस गरिएको थियो।

    उक्त जानकारीपछि बिरामीका आफन्तले उपचारका क्रममा जथाभावी औषधि प्रयोग गरिंदा बिरामीको मिर्गौलामा समस्या देखिएको भन्दै अस्पताल र चिकित्सक विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका थिए।

    बिरामीका आफन्तले मंगलबार अस्पतालको गेटमा टायर बालेर उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि निष्पक्ष छानबिन, कारबाही र बिरामीको गम्भीरतापुर्वक उपचारको माग गरेका हुन्।

    बिरामीका आफन्त सिंहले उपचारका क्रममा गम्भीर लापरबाही गर्ने चिकित्सकमाथि निष्पक्ष छानबिन गरि दोषी देखिए कारबाही हुनु पर्नेसहित बिरामीको उपचार तथा क्षतिपूर्तिको व्यवस्थाको माग आफुहरुले राखेको बताए।

    `घटनाको जिम्मा कसले लिने? उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि छानबिन हुनुपर्छ र बिरामीको गम्भीरतापुर्वक उपचार हुनुपर्छ।´ सिंहले भने।

    बिरामी महिलालाई स्वास्थ्य अवस्था थप जोखिम हुने देखेपछि आफन्तले शनिबार नै भरतपुरस्थित चितवन मेडिकल कलेज पुर्याएका थिए। उक्त अस्पतालमा उपचारका क्रममा दुबै मिर्गौलाले काम गर्ने अवस्था नरहेको र मिर्गौला प्रत्यारोपण गरिनुपर्ने चिकित्सकको सुझावपछि बिरामीलाई हिजो मंगलबार काठमाडौंस्थित मेडिसिटी अस्पतालमा ल्याएर उपचार थालिएको छ।

    घटनाको वास्तविक कारण भने सम्बन्धित चिकित्सकीय परीक्षण तथा छानबिनबाट मात्रै स्पष्ट हुने देखिन्छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend