काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका १०औं तहका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका आकर्षक कार्यालयहरूमा रहँदा पदको दुरुपयोग गरि (२ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ) गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग छ। अख्तियारले सापकोटा र उनकी श्रीमती निरजा पण्डित विरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रबार मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनी विरुद्ध स्वास्थ्य मन्त्रालय अन्तर्गतका आकर्षक कार्यालयहरूमा निरन्तर कार्यरत रहँदाको अवधिमा प्रमुख शहरहरू काठमाडौं लगायतमा महंगा घडेरी खरिद गरी भव्य घर बनाएको, मंहगो सवारीसाधन खरिद गरेको लगायतका अमिल्दो जीवन बिताएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो।
सो क्रममा उनीमाथिको आरोप पुष्टि हुन आएको अख्तियारले भनेको छ। डा. सापकोटाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमतीको नाममासमेत रहेको देखिएको अख्तियारले जनाएको छ।
अख्तियारले सापकोटाको सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्मको आय र ब्यय जाँच गरि सत्यतथ्य खोजगरि अनुसन्धान गरिएको जनाएको छ। अख्तियारले उनी र श्रीमतीबिरुद्ध सो रकम बराबरको बिगो रकम असुल उपर गरि कैद र जरिवानाको कारबाहीको मागदाबी गरिएको भनेको छ।
अनुसन्धानका क्रममा सापकोटाको वैधानिक आय पारिश्रमिक, भत्ता, सवारी साधन तथा जग्गा बिक्री, घरबहाल, कृषि, सेयर बिक्री र अन्य स्रोतहरूसमेत गरी कुल ३ करोड ३५ लाख ७७ हजार २६० रुपियाँ ३४ पैसा देखिएको अख्तियारले भनेको छ। सोही अवधिमा उनको घरजग्गा खरिद, घर निर्माण, सेयर तथा सवारी साधन खरिद, कर्जा भुक्तानी, अध्ययन र वैदेशिक भ्रमण खर्चसहित कुल व्यय ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपियाँ ५८ पैसा भएको पाइएको छ।
कुल आयको तुलनामा व्यय घटाउँदा २ करोड ३ लाख ९४ हजार ६१५ रुपियाँ २४ पैसा बराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि आयोगले मुद्दा दायर गरेको हो। सार्वजनिक पदको दुरुपयोग गरी अस्वाभाविक जीवनयापन गरेको र सम्पत्तिको विवरणसमेत झुट्टा पेस गरेको पुष्टि भएपछि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको हो।
गैरकानुनी रूपमा आर्जित स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती निरजा पण्डितको नाममा समेत घरजग्गा तथा सम्पत्ति खरिद गरिएको पाइएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्रै पण्डितलाई पनि प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।





