आइतवार, कार्तिक १ गते २०८३    

आइतवार, कार्तिक १ गते २०८३    

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन जना बेपत्ता

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन जना बेपत्ता

images
२०८३ कार्तिक १ गते, आइतवार
२०८३ कार्तिक १ गते, आइतवार
  • सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ।

    images

    काठमाडौंबाट दशैँका लागि यात्रु लिएर खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब साँढे २ बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको थियो। मृतक तीन जना महिला हुन्। उनीहरूको पहिचान खुलेको छैन।

    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा परेर अन्य चार जना यात्रु घाइते भएका छन् भने तीन जना बेपत्ता छन्।

    दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी तत्काल उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पठाइएकोमा थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।

    घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक छन्।

    चालक विष्टका अनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली खटिएको छ। 

    प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend