बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

नेपालमा स्क्रब टाइफसका ११ हजारभन्दा बढी संक्रमित, ७४ जिल्लामा फैलियो

नेपालमा स्क्रब टाइफसका ११ हजारभन्दा बढी संक्रमित, ७४ जिल्लामा फैलियो

images
२०८३ आश्विन २९ गते, बिहिवार
२०८३ आश्विन २९ गते, बिहिवार
  • काठमाडौं। नेपालमा सन् २०२६ को अक्टोबर ११ सम्म स्क्रब टाइफसबाट ११ हजार ४० जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशका ७४ जिल्लामा स्क्रब टाइफसका संक्रमित फेला परेका छन्।

    images

    महाशाखाले सार्वजनिक गरेको सन् २०२६ को अवस्थासम्बन्धी प्रतिवेदनअनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा देखिएका छन्। लुम्बिनीमा ३ हजार ६६ जना संक्रमित भएका छन्। त्यसपछि सुदूरपश्चिम प्रदेशमा २ हजार ११३, गण्डकी प्रदेशमा २ हजार ४१, बागमती प्रदेशमा १ हजार ३७३, कोशी प्रदेशमा १ हजार २४३, कर्णाली प्रदेशमा ९२७ र मधेश प्रदेशमा २७७ जना संक्रमित भएका छन्।

    images

    जिल्लागत रूपमा सबैभन्दा बढी संक्रमित दाङमा ६५८ जना छन्। त्यस्तै स्याङ्जामा ५६५, सङ्खुवासभामा ५०५, सल्यानमा ४९१, बझाङमा ४६३, पाल्पामा ४२३, धादिङमा ३९९, रोल्पामा ३७७, बर्दियामा ३५६ र दार्चुलामा ३४८ जना संक्रमित भएका छन्।

    प्रतिवेदनअनुसार स्क्रब टाइफसको संक्रमण वर्षभरि देखिए पनि वर्षायामपछि यसको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। सन् २०२६ को मासिक विवरणमा अगस्टमा २ हजार ५७७ र सेप्टेम्बरमा २ हजार ९३८ संक्रमित भेटिएका छन्। अक्टोबरमा ९५९ संक्रमित देखिएको विवरण छ।

    स्क्रब टाइफस मुसामा परजीवीका रूपमा रहने संक्रमित माइट (लार्भा) को टोकाइबाट मानिसमा सर्ने रोग हो। झाडी, घाँस, खेतबारी तथा जंगल आसपासका क्षेत्रमा काम गर्दा यसको जोखिम बढी हुन्छ।

    यसबाट बच्न झाडी तथा घाँस भएको स्थानमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म रिपेलेन्ट प्रयोग गर्ने, घरवरपरको झाडी सफा राख्ने र मुसाको नियन्त्रणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

    ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने तथा टोकेको ठाउँमा कालो दाग वा घाउ देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ। समयमै उपचार नगरे स्क्रब टाइफसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend