काठमाडौँ। बेलायतमा बसोबास गर्दै आएका दुई जना गैरआवासीय नेपालीले सरकारलाई डीएनए परीक्षण कीट तथा एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन्।
संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले सोमबार सो सहयोग परराष्ट्र मन्त्री शिशिर खनालको उपस्थितमा हस्तान्तरण गरेका हुन्।
परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खनालमार्फत नेपालले सरकारलाई सहयोग स्वरूप रु एक करोडको चेक हस्तान्तरण गरेका थिए भने आचार्यले परीक्षण कीट व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराएक हुन्।
सहयोग उपलब्ध गराएपछि सहयोगी दुवै दाताप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त डीएनए परीक्षण कीट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।



