मंगलवार, कार्तिक १० गते २०८३    

मंगलवार, कार्तिक १० गते २०८३    

दसैँमा सवारी दुर्घटना, १२४ जनाको मृत्यु

दसैँमा सवारी दुर्घटना, १२४ जनाको मृत्यु

images
२०८३ कार्तिक ९ गते, सोमवार
२०८३ कार्तिक ९ गते, सोमवार
  • काठमाडौं। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ।

    images

    नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार, देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर दुई हजार ९८८ जना घाइते भएका छन्।

    images

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिए।

    उनका अनुसार उक्त अवधिमा दुर्घटनामा परेरदुई हजार ९८८ जना घाइते भएका छन्। घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्। सबैभन्दा बढी दुर्घटना कोसी प्रदेशमा ३९७ वटा तथा सबैभन्दा कम मधेस प्रदेशमा ८० वटा दुर्घटना भएको काफ्लेले जानकारी दिएका हुन्।

    यसैगरी काठमाडौं उपत्यकामा १७१, वाग्मतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन्। दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेका प्रहरीले जनाएको छ।

    दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जीप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्यांकर ७१, ६४ माइक्रोबस, ५४ बस ५४, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन रहेका छन्। गत वर्ष दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए।

    ट्राफिक नियम उल्लंघन गर्ने ५ हजारबढी चालकमाथि कारबाही

    दसैँको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने पाँच हजार ७०३ वटा सवारीसाधन चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

    कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन्।

    यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लंघन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लागुपदार्थ सेवन गरी सवारी चलाउने ५३ रहेका छन्।

    केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेका अनुसार, चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा र सहजताका लागि विशेष व्यवस्था गरिएको थियो।

    देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना

    प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरेको थियो। अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको प्रहरीले जनाएको छ।

    सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रविधिको प्रयोगबाट सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रयास गरेको थियो।

    दसैँपछि नजिकिँदै गरेका दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि विशेष योजना कार्यान्वयन गरिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend