काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगकी अध्यक्ष प्राडा. सृजना श्रेष्ठले नेपालले पोलियो उन्मूलनमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर सतर्कता र प्रयास आवश्यक रहेको बताएकी छन्।
विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले विश्वको कुनै पनि ठाउँमा पोलियो भाइरसको सङ्क्रमण रहँदासम्म नेपालमा पनि यो रोग भित्रिने जोखिम कायम रहने बताइन्।
खुला सिमाना र मानिसको आवागमनका कारण नेपालमा पोलियो भाइरस भित्रिन सक्ने जोखिम रहेको उल्लेख गर्दै उनले नियमित खोप, प्रभावकारी निगरानी र समयमै प्रतिकार्यमा जोड दिइन्।
डा. श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न पाँच प्रमुख प्राथमिकता औँल्याएकी छन्।
उनका अनुसार पहिलो प्राथमिकतामा नियमित खोप सेवाको पहुँच विस्तार गर्नुपर्नेछ। विशेषगरी दुर्गम तथा जोखिममा रहेका क्षेत्र र समुदायका प्रत्येक बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गर्न आवश्यक छ।
दोस्रो, पोलियो भाइरसको समयमै पहिचान गर्न अचानक हुने लुलोपनको निगरानी प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनले बताइन्। तेस्रो, पोलियो भाइरस पहिचान भएको अवस्थामा शीघ्र र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न नियमित निगरानी तथा समीक्षा आवश्यक रहेको उनको भनाइ छ।
त्यसैगरी, विश्वव्यापी वित्तीय सहयोगको परिवर्तित अवस्थालाई ध्यानमा राख्दै खोपबाट बचाउन सकिने रोगको निगरानी, प्रयोगशाला सेवा, खोप कार्यक्रम र प्रकोप प्रतिकार्यका लागि आवश्यक क्षमता तथा संरचनाको संरक्षण गर्नुपर्नेमा उनले जोड दिइन्।
पाँचौँ प्राथमिकताका रूपमा पोलियो उन्मूलनका क्रममा हासिल भएका अनुभव, विशेषज्ञता र संरचनाको उपयोग गरी अन्य खोपबाट बचाउन सकिने रोगको निगरानी तथा प्रतिकार्य प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उनले बताइन्।
नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकालाई मुखबाट खुवाइने (ओरल) र सुईमार्फत दिइने (इन्जेक्टेबल) दुवै प्रकारका पोलियो खोप नियमित रूपमा प्रदान गरिँदै आएको छ।
पोलियोमुक्त अवस्थालाई दीर्घकालसम्म कायम राख्न सबै बालबालिकामा खोपको पहुँच सुनिश्चित गर्नुका साथै रोगको निगरानी र सम्भावित सङ्क्रमणप्रति सतर्कता कायम राख्नुपर्नेमा डा. श्रेष्ठले जोड दिएकी छन्।



