काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशी बाढी प्रभावित २ हजार १ सय ६४ परिवारलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराएको छ।
प्रति परिवार रु १५ हजारका दरले रेडक्रसले सो सहयोग उपलब्ध गराएको हो। बाढीबाट प्रभावित रसुवाको उत्तरगया, नुवाकोटको विदुर तथा धादिङको गल्छी र गजुरी पालिकाका प्रभावित परिवारहरूलाई सहायता रकम प्रदान गरिएको हो।
नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित ५ हजार परिवारलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराउने योजना बनाएको छ।
नेपाल रेडक्रस सोसाइटीको बहुउद्देश्यीय नगद सहायता (Multipurpose Cash Assistance - MPC) विपद् र संकटको समयमा प्रभावित परिवारहरूलाई उनीहरूको तत्कालीन र आधारभूत आवश्यकताहरू पूरा गर्न प्रदान गरिने एक प्रमुख मानवीय सहयोग कार्यक्रम हो।
यस अन्तर्गत प्रभावितहरूलाई निश्चित रकम नगद रूपमै उपलब्ध गराइन्छ, जसले गर्दा उनीहरूले आफ्नो प्राथमिकता (जस्तै: खाना, कपडा, औषधि, वा आवास) अनुसार आवश्यक सामग्री आफैं खरिद गर्न सक्छन्।



