काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा देखिंदै आएको जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी थप गर्न तयारी गरिरहेको छ। नयाँ दरबन्दीसँगै संरचनाको विस्तारमा पनि मन्त्रालयले काम गरिरहेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सो बारे तयारी भइरहेको मन्त्री निशा मेहताले आइतबार जनकपुरमा संचारकर्मीहरुसँगको भेटमा बताएकी हुन्।
अस्पतालमा बढ्दो बिरामीको चापअनुसार नर्सलगायतका स्वास्थ्यकर्मीको अभाव रहेको विषयमा सरकार जानकार रहेको तथा जनशक्ति र संरचना विस्तारमार्फत अस्पतालको सेवा सुधार गर्ने विषयमा काम भइरहेको उनले बताइन्।
मन्त्री मेहताले संघीय र प्रदेश सरकारबीच समन्वय गरेर अस्पतालको सेवा सुधार गर्ने प्रयास भइरहेको भन्दै प्रदेशका अस्पतालमा समस्या देखिए पनि त्यसलाई प्रदेश सरकारको मात्र जिम्मेवारी भनेर संघीय सरकार पन्छिन नमिल्ने स्पष्ट पारिन्।
‘हामी कोअर्डिनेसन गर्दै छौँ, प्रदेशको स्वास्थ्य मन्त्रीज्यूसँग पनि मेरो कोअर्डिनेसन भइरहेको छ, सचिवज्यूसँग पनि कुरा भइरहेको छ, कसरी मिलेर यसलाई सुधार्न सकिन्छ, हामी काम गरिरहेका छौँ,’ उनले भनिन्।
मन्त्री मेहेताले अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि सोहीअनुसार नयाँदरबन्दी थप्न र भौतिक संरचना विस्तार गर्न नसक्दा समस्या उत्पन्न हुने गरेको बताइन्। जनसङ्ख्या वृद्धि भए पनि अस्पतालको क्षमता र जनशक्ति विस्तार हुन नसकेको उनको भनाइ छ।
‘यो बीचमा न नयाँ दरबन्दी थपिएको छ, न संरचना वृद्धि भएको छ, जनसङ्ख्या पनि धेरै वृद्धि भएको छ, त्यसले गर्दा चाप बढी छ र समस्या आउनुको कारण पनि त्यही हो।’ उनले भनिन्
मन्त्री मेहताले अस्पतालको समस्या समाधानका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्ने वा संरचना थप्ने विषयमा छलफल भइरहेको जानकारी दिइन्। यसबारे प्रदेशका स्वास्थ्यमन्त्रीसँग पनि छलफल भइरहेको उनको भनाइ छ।



