सोमवार, कार्तिक २ गते २०८३    

सोमवार, कार्तिक २ गते २०८३    

दशैंमा मासु खाँदा मात्रा र पकाउने तरिकामा ध्यान दिनुस्

दशैंमा मासु खाँदा मात्रा र पकाउने तरिकामा ध्यान दिनुस्

images
२०८३ कार्तिक २ गते, सोमवार
२०८३ कार्तिक २ गते, सोमवार
  • काठमाडौं। दशैंमा मासुका परिकार खाँदा मात्रा र पकाउने तरिकामा ध्यान दिन आयुर्वेद चिकित्सक डा. सुवर्ण पौडेलले सुझाव दिएका छन्। चाडपर्वका बेला आवश्यकताभन्दा बढी खाने, पर्याप्त पानी नपिउने, मदिरा सेवन गर्ने र राति अबेरसम्म जाग्राम बस्ने बानीले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्ने उनले बताएका छन्।

    images

    दशैंको खानपान र जीवनशैलीबारे कुराकानी गर्दै डा. पौडेलले चाडपर्वमा मानिसको दिनचर्या परिवर्तन भए पनि शरीरको आवश्यकता नबदलिने बताए। रमाइलो र भेटघाटका क्रममा खानपान, निद्रा र शारीरिक गतिविधिमा बेवास्ता गर्दा स्वास्थ्यमा असर पर्न सक्ने उनको भनाइ छ।

    images

    ‘विशेष गरेर चाडपर्वमा हर्षोल्लास हुन्छ। आहारजन्य र विहारजन्य कारण दुवै पक्षमा थोरै चुक्छौँ। शरीरको सिस्टम कहिल्यै परिवर्तन हुँदैन, चाडबाड होस् अथवा सामान्य दिन, हाम्रो शरीरको सिस्टम त्यही नै रहन्छ। तर चाडबाड मनाइरहँदा शरीरलाई लापरबाही गर्छौँ,’ उनले भने।

    मासु खानै नहुने होइन, पकाउने तरिका र मात्रा मिलाउनुपर्छ

    दशैंमा पक्कु, सेकुवा, रोस्ट, तारेको तथा भुटेको मासुका परिकार बढी खाइन्छन्। त्यसमाथि सेलरोटी, चिउरा र अन्य चिल्लो खानेकुरा पनि धेरै खाँदा पाचन प्रणालीमा भार पर्न सक्छ। डा. पौडेलले मासु खानै नहुने नभई कति खाने र कसरी पकाउने भन्ने कुरामा ध्यान दिनुपर्ने बताए।

    उनका अनुसार धेरै चिल्लो, तारेको वा पोलेको मासुको सट्टा झोल बढी राखेर नरम हुने गरी पकाइएको मासु खानु उपयुक्त हुन्छ।

    ‘सेकुवाहरू अथवा पोलेर, तारेर, भुटेर खानुभन्दा पनि सजिलै पच्ने किसिमको बनाएर कुकरमा सिट्टी हानेर, झोल बढी राखेर खानुपर्छ,’ उनले भने।

    मासुसँगै दाल, गेडागुडी, हरियो सागसब्जी तथा फलफूल पनि खानुपर्ने उनले बताए। सबैको पाचन क्षमता र स्वास्थ्य अवस्था फरक हुने भएकाले अरूले खाएको देखेर आफ्नो क्षमताभन्दा बढी खानु उचित नहुने उनको सुझाव छ।

    आफन्तको घरमा जाँदा पटक–पटक खानबाट जोगिनुहोस्

    दशैंमा आफन्त तथा छिमेकीको घरमा जाने, चिया पिउने र विभिन्न परिकार खाने चलन हुन्छ। एउटा घरमा खाना खाइसकेपछि अर्को घरमा पुगेर पनि मासु तथा अन्य परिकार खाइरहँदा शरीरलाई आवश्यकताभन्दा बढी खाना पुग्न सक्ने डा. पौडेलले बताए।

    उनले सत्कारका नाममा जबर्जस्ती खानुभन्दा आफ्नो भोक र स्वास्थ्यअनुसार खानेकुरा छनोट गर्न सुझाव दिए। एउटा घरमा मासु खाइसकेको अवस्थामा अर्को घरमा पुगेर पनि मासु खानैपर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ छ।

    ‘एक ठाउँमा मासु खानुभएको छ भने अर्को ठाउँमा जाँदा अप्ठ्यारो मान्नु पर्दैन। मैले त्यहाँ खाएर आएको छु भन्न सक्नुहुन्छ। बरु स्याउ खानुहोस्,’ उनले भने।

    खान मन नभएको अवस्थामा फलफूल, काँक्रो, मुला वा अन्य हल्का खानेकुरा रोज्न सकिने उनले बताए।

    कब्जियत र पाइल्सको जोखिमबाट बच्न पानी र फाइबरयुक्त खाना आवश्यक

    चाडपर्वमा पर्याप्त पानी नपिउने र फाइबरयुक्त खानेकुरा कम खाने बानीले कब्जियतको समस्या निम्त्याउन सक्छ। दिसा कडा हुँदा मलद्वारमा दबाब पर्ने भएकाले पाइल्सको समस्या भएका व्यक्तिलाई थप असहज हुन सक्ने डा. पौडेलले बताए।

    उनका अनुसार पाइल्सका विभिन्न कारण हुन्छन्। खानपानको असन्तुलनबाहेक गर्भावस्था, भारी तौल उठाउने काम तथा उमेरसँगै हुने शारीरिक परिवर्तनले पनि यसको जोखिम बढाउन सक्छ।

    दिसा गर्दा रगत बग्ने, मलद्वार वरिपरि सुन्निने वा मासु बाहिर निस्कनेजस्ता लक्षण देखिएमा बेवास्ता नगरी चिकित्सकसँग परामर्श लिनुपर्ने उनले बताए।

    डा. पौडेलले मासुका परिकारसँगै दाल, गेडागुडी, हरियो सागसब्जी र फलफूल खान तथा शरीरको आवश्यकताअनुसार पानी पिउन सुझाव दिए। सन्तुलित आहारले पाचन प्रक्रियालाई सहज बनाउन र कब्जियतको जोखिम कम गर्न मद्दत पुग्ने उनको भनाइ छ।

    ‘सागसब्जीहरू, दालहरू अलि प्रशस्त मात्रामा खानुभयो भने मासु खाँदैमा बिग्रिने अवस्था रहँदैन,’ उनले भने।

    मदिरा सेवन र अनिद्राले बिगार्न सक्छ दिनचर्या

    दशैंमा मासुसँगै मदिरा सेवन गर्ने, राति अबेरसम्म तास खेल्ने तथा जाग्राम बस्ने बानीले नियमित दिनचर्या प्रभावित हुन सक्ने डा. पौडेलले बताए। पर्याप्त निद्रा नलिने र खानपानको तालिका बिगार्ने बानीबाट जोगिनुपर्ने उनको सुझाव छ।

    उनले मदिरा सेवन गरेर सवारीसाधन नचलाउन र जोखिमपूर्ण गतिविधि नगर्न पनि आग्रह गरे। क्षणिक रमाइलोका लागि आफ्नो तथा अरूको जीवन जोखिममा पार्न नहुने उनको भनाइ छ।

    ‘एकछिनको रमाइलोले गर्दा भोलि कुनै घटना, दुर्घटना हुन सक्छ। रक्सी नै खाएर, तास नै खेलेर, होहल्ला नै गरेर, झगडा नै गरेर मात्र रमाइलो हुँदैन,’ उनले भने।

    परिवारसँग समय बिताउने, आफन्त भेटघाट गर्ने र सांस्कृतिक गतिविधिमा सहभागी भएर पनि चाडपर्व मनाउन सकिने उनले बताए।

    बालबालिकाको खानपानमा पनि ध्यान दिन आग्रह

    चाडपर्वमा बालबालिकालाई आवश्यकताभन्दा बढी चिल्लो तथा गुलियो खानेकुरा दिनुभन्दा सन्तुलित आहारमा ध्यान दिनुपर्ने डा. पौडेलले बताए। मोबाइल तथा टेलिभिजनमा लामो समय बिताउने बानीलाई कम गर्दै शारीरिक गतिविधिमा सहभागी गराउनु पनि आवश्यक रहेको उनको भनाइ छ।

    उनले दशैंमा नियमित निद्रा, सन्तुलित खानपान, पर्याप्त पानी र शारीरिक गतिविधिलाई निरन्तरता दिन आग्रह गरेका छन्। स्वास्थ्यको ख्याल गर्दै शान्तिपूर्ण रूपमा चाडपर्व मनाउनुपर्नेमा उनले जोड दिए।

    ‘आजको दशैं हजुरको रमाइलो होला, तर आज गरेका गल्तीले गर्दा आउने दसैँहरू नरमाइलो हुन नपरोस्,’ उनले भने, ‘शान्तिपूर्ण हिसाबले आफ्नो स्वास्थ्यलाई माया गर्दै चाडपर्व मनाउनुस्, जसले गर्दा यस्ता चाडपर्व सधैँ मनाउन पाइयोस्।’

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend