काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले विजया दशमीको अवसरमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको सहज आवतजावतका लागि निःशुल्क बस सञ्चालन गरेको छ।
सशस्त्र प्रहरीले उपत्यका भित्र दसैँका लागि यात्रुलाई सहज आवागमनका लागि भन्दै २ वटा बस संचालन गरेको हो। दसैँका समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा संचालन हुने गर्दछन।
सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार ३ दिन , बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालनको व्यवस्था मिलाइएको छ।
काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुलाई सेवा प्रदान गर्नेछ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।
दसैंको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गर्दै आइरहेको सस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।



