काठमाडौँ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान भएर उचित उपचार गर्न सके धेरै अवस्थामा रोगलाई पूर्णरूपमा निर्मूल पार्न सकिने बताएका छन्।
डा. चालिसेले सामाजिक संजाल फेसबुकमार्फत विशेषगरी प्रारम्भिक अवस्थामा पत्ता लागेका क्यान्सरमा रोगको प्रकृति र अवस्थाअनुसार उपचार अघि बढाउनुपर्ने बताएका हुन्।
उनले अधिकांश ठोस (Solid) क्यान्सरमा Radical Onco Surgery मार्फत शल्यक्रिया गरी रोगलाई जरैदेखि निर्मूल पार्ने प्रयास गरिने पनि बताएका छन्। यस्तै केहीलाई रेडियोथेरापीमार्फत पनि उपचार गरेर रोग पूर्णरूपमा निको पार्ने लक्ष्य राखिने उल्लेख गरेका छन्।
`प्रायः जसो solid cancer मा Radical Onco Surgery अपरेशन गरेर नै रोगलाई जरै देखि उन्मूलन गर्न सकिन्छ भने केही क्यान्सरमा रेडियोथेरापी गरेर Curative treatment गरिन्छ। फैलिसकेको क्यान्सर रोग मा रेडियोथेरापी, किमोथेरापी, ईम्मयुनोथेरापी, प्यालिएटिभ केएर आदि उपचार पद्धति अपनाईन्छ।´ उनले क्यान्सर रोगको उपचार तथा शल्यक्रियाबारे प्रष्ट पार्दै भनेका छन्।
डा. चालिसेले उचित चिकित्सकीय सल्लाहको अभावमा केही बिरामी प्रमाणित नभएका उपचार विधिको पछि लाग्दा महत्वपूर्ण समय र ठूलो रकम खर्च हुने गरेको पनि भनेका छन्। यस्तो ढिलाइका कारण प्रारम्भिक अवस्थामा निको हुन सक्ने क्यान्सरसमेत जटिल अवस्थामा पुग्ने जोखिम रहने उनको भनाइ छ।
`अहिले पनि उचित सल्लाहको कमीका कारण केही बिरामीहरुलाई दिग्भ्रमित पार्ने, प्रमाणित नभइसकेका उपचारहरु गरेर अमुल्य समय र पैसा खेर फाल्ने र अन्तमा निको हुने रोग पनि निको नहुने अवस्थामा पुगेको देखिएको छ। त्यसैले सचेत रहौ, छिटो पत्ता लगाउने र बेलैमा उपचार गर्ने गरेमा क्यान्सर रोग पुर्ण रुपमा निर्मुल हुन सक्छ।´ उनले लेखेका छन्।
उनले क्यान्सरको शंका वा लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर आवश्यक परीक्षण गराउन र विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचार अघि बढाउन पनि सुझाएका छन्।
डा. चालिसेले अस्पताल तथा स्वास्थ्य संस्थाबाहिर बिरामीलाई विभिन्न अप्रमाणित उपचारको प्रलोभन देखाउने बिचौलियाहरू सक्रिय हुन सक्ने भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनसमेत आग्रह गरे। उनले त्यस्ता आधिकारिकता नभएका कार्यलाई सबै मिलेर निरुत्साहित गर्नु पर्नेमा पनि जोड दिए।



