मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

के हो मुटुरोग? कस्ता हुन्छन् लक्षण?

के हो मुटुरोग? कस्ता हुन्छन् लक्षण?

images
२०८३ आश्विन १३ गते, मंगलवार
२०८३ आश्विन १३ गते, मंगलवार
  • मानव शरीरको अति संवेदनशील तथा महत्वपूर्ण अङ्ग मुटुमा देखिने विभिन्न किसिमका स्वास्थ्य समस्यालाई मुटुरोग भनिन्छ। प्रत्येक वर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउँदै आइएको छ। विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो। शहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिने गरेका छन्।

    images

    मुटु रोगका कारण वर्षेनी विश्वभर एक करोड ५० लाखभन्दा बढीले अकालमा ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको छ। मुटुमा रहने भल्भ, मांसपेशी तथा बाहिरी पातलो तह पेरीकार्डियम लगायतका भागहरूमा आउने खराबीका कारण मुटु रोग निम्तने गर्छ।  मुटुमा समस्या आएमा शरीरले विभिन्न किसिमका लक्षणहरू देखाउने गर्छ।

    images

    मुटु रोगका प्रमुख लक्षण 

    – हिँड्दा वा सामान्य काम गर्दा सास फेर्न गाह्रो हुने।  

    – छाती दुख्ने तथा भारी हुने।

    – मुटुको ढुकढुकी अस्वाभाविक रूपमा बढ्ने।

    – चक्कर लाग्ने र अचानक बेहोस हुने।

    – शरीर तथा खुट्टाहरू सुन्निने।

    नेपालमा मुटु रोगका विभिन्न कारणहरू रहेका छन्, जसलाई मुख्य गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ।

    १. जन्मजात मुटु रोग

    गर्भावस्थामा आमाको सन्तुलित खानपान तथा पोषणको कमी, गर्भावस्थामा आमामा हुने विभिन्न प्रकारका सङ्क्रमण र चिकित्सकको सल्लाहबिना हानिकारक औषधिको सेवनका कारण नवजात शिशुमा जन्मजात मुटुरोग देखिन सक्छ।

    २. बाथरोगजन्य मुटुरोग

    विशेषगरी सरसफाइ र स्वच्छ वातावरणको कमी तथा खानपानमा ध्यान नदिनाले बाथरोग गराउने किटाणुले मुटुको भल्भमा आक्रमण गर्छ। यो समस्या बालबालिकाहरूमा बढी मात्रामा देखिने गर्छ।

    ३. मुटुको नशा ब्लक हुने समस्या

    उच्च रक्तचाप (प्रेशर), मधुमेह (सुगर), रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुनु, धुम्रपान तथा मद्यपानको सेवन, मोटोपना, शारीरिक व्यायामको कमी र अत्याधिक मानसिक तनावका कारण मुटुको नशा साँगुरिने वा ब्लक हुने गर्छ। समयमै उपचार नभएमा यसले हृदयघात समेत गराउन सक्छ।

    मुटु रोगबाट बच्ने र नियन्त्रण गर्ने उपाय

    मुटुलाई स्वस्थ राख्न र यससम्बन्धी रोगहरूबाट बच्नका लागि खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्दछ।

    सन्तुलित खानपानः

    धेरै चिल्लो, बोसोयुक्त र रातो मासुको सेवन कम गर्ने तथा हरियो सागपात र ताजा फलफूलको सेवन बढाउने।

    नियमित व्यायामः

    शरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन दैनिक रूपमा शारीरिक व्यायाम वा खेलकुदमा सहभागी हुने।

    तनाव व्यवस्थापनः

    अत्याधिक मानसिक तनावबाट टाढा रहने र दैनिक कम्तीमा ७ देखि ८ घण्टाको पर्याप्त निद्रा पुर्याउने

    नियमित स्वास्थ्य जाँचः आफ्नो रक्तचाप, सुगर र कोलेस्ट्रोलको मात्रा समय–समयमा परीक्षण गरी नियन्त्रणमा राख्ने।

    (डा. मिलनप्रकाश श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।)

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend