काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव एवम ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनका बोर्ड सदस्य अजयकुमार राईले नेपालमा आएको विनाशकारी विपत्ति र सरकारी नीतिका कारण श्रमिक वर्ग सबैभन्दा बढी प्रताणित भएको बताएका छन्।
विश्वभर एक करोड ९७ लाख सदस्य रहेको यातयात मजदुरहरुको विश्वस्तरको संगठन इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको मेक्सीकोमा आयोजना गरिएको बैठकमा नेपालबाट प्रतिनिधित्व गर्दै राईले नेपालमा ट्रेड युनियनहरुको अवस्था र सरकारबाट भएको औपचारिक क्षेत्रका युनियन खारेजीबारे आफ्नो धारणा राखेका थिए।
सो क्रममा बोर्ड सदस्य समेत रहेका महासचिव राईले भोटेकोशी र बुढीगण्डकी बाढीबाट सबैभन्दा धेरै श्रमिक वर्ग प्रताडित भएको, सयौं श्रमिकको गासबास उठेको र वेरोजगार बन्नुपरेको बैठकमार्फत विश्व समूदायलाई जानकारी गराए।
सो अवसरमा नेपाल यातायात मजदुरहरुले तयार पारेको भोटेकोशी बाढीले श्रमिकहरुलाई प्रभावित पारेको सन्र्दभको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो।
बैठकमा राईले जेनजी आन्दोलनपछि बनेको निर्वाचित वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो एकसय बुँदे कार्ययोजनामा ट्रेड युनियनलाई बन्देज लगाइएको, स्वास्थ्य र निजामती सेवा क्षेत्रका युनियनहरु खारेज गरिएको साथै युनियनका भवनहरु सरकारले नियन्त्रणमा लिएको जानकारी गराए।
सरकारी कदमविरुद्ध युनियनकर्मीहरु सर्वोच्च अदालत गएको, विचाराधिन रहेको मुद्दाको सुनुवाइ पटक पटक सरेको साथै निजामती सेवाका सक्रिय युनियनकर्मीहरुलाई दुर्गम क्षेत्रमा सरुवा गरिएको र सार्वजनिक क्षेत्रमा रहेका युनियनहरु पनि त्रसित अवस्थामा रहेको पनि राईले जानकारी गराएका थिए।
विपत्ति र सरकारी नीतिबाट प्रताडित भएका नेपाली युनियनकर्मी एवम श्रमिक वर्गहरुका पक्षमा विश्वभरको सदभाव आवश्यक रहेको औंल्याउँदै उनले सहयोगको अपेक्षा समेत राखे।
बोर्ड सदस्य राईले आफ्ना धारणा राखे पश्चात फेडेरेशनका महासचिव स्टिफन कटनले युनियन अधिकारका लागि फेडेरेशनको फेरी पनि एक्यवद्धता रहेको सुनाए।
स्टिफन कटनले केही समयअघि नेपालमा एक सार्वजनिक कार्यक्रममार्फत पनि नेपाली श्रमिकहरुका पक्षमा आवाज उठाएका थिए भने राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर श्रमिक अधिकारका पक्षमा उभिन आग्रह गरेका थिए।
विश्व कार्य समितिको बैठकमा मेक्सिकोका यातायातमन्त्री हेक्टर उलीसस गारसिया नियटो र श्रममन्त्री मार्थ बरुच र फेडेरेशन बेलायतका वरिष्ठ राजनीतिज्ञ एवम केही वर्ष अगाडि ब्रिटिश संसदमा लेवर पार्टीकातर्फबाट विपक्षि दलका नेता एवम सांसद जेरेमी कार्बनले समेत बैठकलाइ सम्बोधन गरेका थिए।
सन १८९६ मा स्थापित फेडेरेशनमा विश्भरका हवाई, सडक, रेल, पानीजहाज, बन्दरगाह, पर्यटन, सुख्खा बन्दरगाह, प्लाटफर्म श्रमिकलगायतका करिब सात सयवटा युनियनहरु आवद्ध छन्। लण्डनमा प्रधान कार्यालय रहेको फेडेरेशनमा नेपालबाट राईले नेतृत्व गर्दै आइरहेका छन्।




