मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली कलाकारको साथ, करिब १५ हजार डलर जुट्यो

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली कलाकारको साथ, करिब १५ हजार डलर जुट्यो

images
२०८३ आश्विन ५ गते, सोमवार
२०८३ आश्विन ५ गते, सोमवार
  • क्यानबेरा। नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले क्यानबेरामा ‘नेपाल फ्लड डिजास्टर अपिल’ कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममार्फत करिब १५ हजार अस्ट्रेलियन डलर संकलन भएको छ।

    images

    आर्ट साउण्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (क्यान्बेरा) को सहकार्यमा क्यानबेराको ३८ डेभिड स्ट्रिट, टर्नरस्थित पोलिस ह्वाइट ईगल क्लबमा सो कार्यक्रम आयोजना गरिएको हो।

    images

    कार्यक्रममा नेपाली खानाका परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, कविता वाचन तथा नाटक प्रदर्शन गरिएको थियो भने कार्यक्रममार्फत नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै राहत संकलन गरिएको थियो।

    आयोजकका अनुसार कार्यक्रममा करिब १५ हजार अस्ट्रेलियन डलर संकलन भएको छ। उक्त सहयोग `इमर्जेन्सी एक्सन अलायन्स´को `नेपाल फ्लड डिजास्टर´ अपिल तथा नेपालको प्रधानमन्त्री राहत कोषका लागि जुटाइएको जनाइएको छ।

    कार्यक्रममा जलविज्ञ तथा नेपाली समुदायका अगुवा डा. दुर्गा दत्त कँडेलले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनले नेपालमा पारिरहेको प्रभावबारे चिन्ता व्यक्त गरे।

    उनले नेपालमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का जोखिमबारे अस्ट्रेलियाली समुदायलाई जानकारी गराउँदै स्थानीय नेतृत्व र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।

    नेपालजस्ता भौगोलिक रूपमा संवेदनशील देशहरूले जलवायु परिवर्तनका कारण भोगिरहेका चुनौतीप्रति विश्व समुदायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको भनाइ थियो।

    त्यसैगरी, अर्थशास्त्री तथा नेपाली समुदायका अगुवा डा. कृष्ण हमालले कार्यक्रममा सहभागी सबै व्यक्ति, स्वयंसेवक, कलाकार तथा आयोजकप्रति आभार व्यक्त गरे।

    उनले विपद्को कठिन घडीमा नेपाली समुदायलाई साथ र सहयोग प्रदान गर्ने अस्ट्रेलियाली तथा नेपाली समुदायको योगदानको प्रशंसा गर्दै प्राप्त सहयोगले प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    आर्ट साउण्ड एफएमका अध्यक्ष स्टिभ लिटलले नेपालप्रति संस्थाको ऐक्यबद्धता व्यक्त गर्दै समाचारका शीर्षकहरू ओझेलमा परेपछि पनि नेपाली समुदायप्रतिको साथ र समर्थन कायम रहने प्रतिबद्धता जनाए।

    उनले कार्यक्रमबाट करिब १५ हजार डलर संकलन भएको जानकारी दिंदै मानवीय संकटका बेला समुदायबीचको सहकार्य र निरन्तर सहयोगको महत्त्वमा जोड दिए। उनले नेपाललाई आवश्यक परेको समयमा साथ दिइरहने प्रतिबद्धता पनि व्यक्त गरे।

    कार्यक्रममा अस्ट्रेलियाली ब्यान्ड `द डेभिल एन्ड द बन्नी´ तथा `द डेजी कलेक्टिभ´ लगायतका कलाकारले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएका थिए।

    त्यसैगरी, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (क्यान्बेरा)का कलाकारहरू शशांक अधिकारी, नवीन अधिकारी, उषा दवाडी र अर्णव सम्मान पौडेलले बाढीसम्बन्धी नाटक प्रस्तुत गरेका थिए।

    प्रतिष्ठानका अध्यक्ष यज्ञ अधिकारीले कविता वाचन गरेका थिए भने जिसस भण्डारीले बाँसुरी वादनमार्फत सांगीतिक साथ दिएका थिए।

    नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले नेपाली र अस्ट्रेलियाली समुदायबीचको सहकार्य, मानवीय भावना तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको सन्देश प्रवाह गरेको छ।

    नेपाल विपद्मा परेको समयमा अस्ट्रेलियामा रहेका नेपाली तथा अस्ट्रेलियाली समुदाय एकजुट भएर सहयोगमा जुट्नुले मानवीय एकता र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाएको छ।

    कार्यक्रममा नेपाली तथा अस्ट्रेलियाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend