मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

क्यानबेरामा मनाइयो संविधान दिवस : झण्डोत्तोलन समारोहमा दोहोरो नागरिकता कार्यान्वयनमा जोड

क्यानबेरामा मनाइयो संविधान दिवस : झण्डोत्तोलन समारोहमा दोहोरो नागरिकता कार्यान्वयनमा जोड

images
२०८३ आश्विन ३ गते, शनिवार
२०८३ आश्विन ३ गते, शनिवार
  • क्यानबेरा। नेपाली राजदूतावास क्यानबेराले संविधान दिवस २०८३ को अवसरमा विशेष झण्डोत्तोलन समारोहको आयोजना गरेको छ।

    images

    शनिबार बिहान दूतावास परिसर, २२ Kareelah Vista, O'Malley मा आयोजित कार्यक्रम नेपाली राष्ट्रिय गानबाट सुरु भएको थियो। कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा फहराएर संविधान दिवस भब्य रुपमा मनाउन आग्रह गरिन।

    images

    कार्यवाहक राजदूत गौतमले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताका मूल्यहरुप्रति प्रतिबद्धता पुन: स्मरण गराइन्।

    सो क्रममा उनले हालै नेपालमा आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली र प्रभावित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिन। साथै उद्धार तथा राहतमा खटिएका सबै निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगीहरुप्रति हार्दिक सम्मान व्यक्त गरिन।

    अस्ट्रेलियामा रहेका नेपालीहरुले मातृभूमिको उद्धार तथा राहतका लागि देखाएको अभूतपूर्व उदारता र उल्लेखनीय आर्थिक सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै उनले भनिन्,"तपाईंहरुको सहयोग रकममा मात्र सीमित छैन। यो मातृभूमिप्रतिको माया, पीडामा रहेका नेपालीप्रतिको अपनत्व र हाम्रो समुदायको एकताको सशक्त अभिव्यक्ति हो। हजारौं किलोमिटर टाढा रहेर पनि नेपाललाई आफ्नो हृदयमा राख्ने नेपाली समुदायप्रति हामी गर्व गर्छौं।"

    अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति दिनप्रतिदिन सशक्त बन्दै गएको र सँगै सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पुर्‍याएको योगदानले नेपाल-अस्ट्रेलिया जनस्तरीय सम्बन्धलाई झन् मजबुत बनाउँदै लगेको उनको भनाइ थियो।

    कार्यक्रममा बोल्दै वरिष्ठ सामुदायिक नेता तथा अर्थशास्त्री डा. कृष्ण हमालले बाढी विपद्को घडीमा अस्ट्रेलियामा रहेका नेपाली संघ-संस्थाहरुले गरेको राहत संकलन र समन्वयको कार्यको उच्च प्रशंसा गरे।

    साथै उनले दूतावास मार्फत नेपाल सरकारलाई सन्देश पुर्‍याउन आग्रह गर्दै दोहोरो नागरिकता (Dual Citizenship) ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। गैरआवासीय नेपालीहरुको लामो समयदेखिको मागलाई सम्बोधन गर्न यसको छिटो कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।

    कार्यक्रमको अन्त्यमा कार्यवाहक राजदूत गौतमले "नेपाल-अस्ट्रेलिया मैत्री सम्बन्ध अझ सुदृढ हुँदै जाओस् र संविधान दिवसले शान्त, समृद्ध, समावेशी र एकताबद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा प्रदान गरोस्" भन्ने कामनासहित धन्यवाद ज्ञापन गरेकी थिइन्।

    कार्यक्रममा स्थानीय नेपाली संघ-संस्थाका प्रतिनिधि, सामुदायिक अगुवा तथा ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend