काठमाडौं। काठमाडौं महानगरपालिकाले सेवा निवृत्त १३ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई जनही २ लाख रुपियाँसहित सम्मान गरेको छ।
२२औँ राष्ट्रिय तथा काठमाडौं महानगरपालिकाको १४औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस २०८२ को अवसर पारेर राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा यो सम्मान गरिएको हो। समारोहमा दुई जना स्वयमसेविकाका हकवालालाई मरणोपरान्त सम्मान गरिएको थियो।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले सम्मान गरेका हुन्।
महिला स्वास्थ्य स्वयमसेविका रणनीतिबमोजिम ६० वर्षको उमेरसम्म सेवा गर्न पाइन्छ। यसपछि सेवा निवृत्त हुने ब्यवस्था छ। कार्यक्रममा हरेक वडाबाट एक जना स्वयमसेविकालाई ५ हजार रुपैयाँसहित उत्कृष्ट स्वयमसेविका सम्मान प्रदान गरिएको थियो।
सम्मानपछि कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका विना नेपालको स्वास्थ्य सेवा अपूर्ण रहेको बताइन्।
उनले प्रजनन स्वास्थ्य, बालबालिकाका खोप, अभियान तथा महामारीजस्ता समयमा आधारभूत स्वास्थ्य सेवा लिएर स्वास्थ्य स्वयमसेविकाहरु घरघरमा पुगेका कारण सबैको सेवामा पहुँच पुगेको बताइन्।
‘सेवा प्रवेश, सेवामा रहँदाका दायित्व र सेवापछिको अवस्थालाई व्यवस्थापन गर्न कार्यविधि तर्जुमा गर्दैछौँ। साझेदारहरुको साझा मत निर्माण भएपछि यसलाई पारित गराउने प्रक्रियामा लैजान्छौं।’ उपप्रमुख डंगोलले भनिन्।
कार्यक्रममा उनले, स्वास्थ्य स्वयमसेविका बिमा कार्यक्रम सम्बन्धी प्रस्तावलाई आगामी नगर सभामा लैजाने वचन पनि दिइन्।
‘स्वयमसेविकाहरुको श्रम र सेवाको तुलना पैसा वा मूल्यमा तुलना हुन सक्दैन।’ स्वास्थ्य शिक्षा समितिका संयोजक महर्जनले भनिन्, ‘यो संवेदनशील सेवालाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ, सरकारको सेवा नागरिकको घरमा पुर्याउने सदभावना दूतहरुको योगदान सदैव कदर योग्य छ।’
महानगरपालिकामा धेरै स्वयमसेविका भएका बेला ५५८ जना थिए। हाल ४५३ जना सक्रिय छन्। विभागका प्रमुख दिपक केसी. का अनुसार विभागले स्वयमसेविकाहरुको क्षमता विकास, असल अभ्यास, ज्ञान, सिप र अनुभवको आदानप्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको बताए।
सहरी स्वास्थ्यमा काम गर्दाको अनुभव सुनाउँदै सेवा निवृत्त गीता थिङ् पौडेलले ३० वर्ष काम गर्दा बल्ल बोल्ने अवसर प्राप्त गरेको बताइन्।
‘अरुको सेवा गर्दागर्दै आफू वेसहारा हुनु पर्ने अवस्था नआओस्। यो विषयलाई नीतिगत ठाउँमा रहनेले विचार गरिदिनुपर्छ।’ उनको भनाइ थियो।
महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका राष्ट्रिय रणनीति बमोजिम स्वयमसेविकाहरुबाट सेवा प्रवाह हुने गरेको छ। २०४७ सालमा पहिलो पटक जारी भएको रणनीति आर्थिक वर्ष २०६७/०६८ सम्ममा पाँचौँ पटक पुनर्लेखन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत तथा जारी भएको थियो। २०६७ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेर २०७६ सालमा पहिलो संशोधन भएको थियो।



