काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढीपहिरोको जोखिममा परेका ६ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नेपाली सेनाले गोरखाको उत्तरी क्षेत्र जगतका ६ जनालाई हवाई उद्धार गरिएको जनाएको हो।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढी र पहिरोको जोखिम बढेपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउँदै हेलिकप्टरबाट ६ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए।
बाढीका कारण जोखिम बढेपछि जगत क्षेत्रमा रहेका नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार अभियान सञ्चालन गरिएको सेनाले जनाएको छ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई माध्यमबाट जगत क्षेत्रमा तैनाथ गरिएको सेनाले जनाएको छ। विपद्का बेला तत्काल परिचालित भई खोज तथा उद्धार कार्य सञ्चालन गर्ने उद्देश्यले उक्त टोलीलाई प्रभावित क्षेत्रमा खटाइएको हो।
बाढी र पहिरोका कारण दुर्गम क्षेत्रका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले नेपाली सेनाले हवाई तथा स्थलगत माध्यमबाट उद्धार कार्य अघि बढाएको जनाएको छ।



