सल्यान। सल्यानमा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ७५६ पुगेको छ। मंगलबार मात्रै थप १३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले मंगलबार सार्वजनिक गरेको असोज ११ गतेदेखि असोज २७ गते सम्मको विवरण अनुसार ५९३ जना महिला र १६३ जना पुरुष गरेर ७५६ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार सोही अवधि भित्र २१ सय ६७ जना महिला तथा ११ सय ३१ पुरुष गरेर जम्मा ३२ सय ९८ जना बिरामीको जाँच गरिएको छ।
रिजालका अनुसार संक्रमणबाट दार्मा गाउँपालिकामा आठ र छत्रेश्वरी गाउँपालिकामा एक गरी नौ जनाको मृत्यु भइसकेको छ। परीक्षण गरिएकामध्ये महिलामा संक्रमणको दर बढी देखिएको छ। संक्रमितमध्ये करिब ७८ प्रतिशत महिला छन् । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लामा सङ्क्रमण पुष्टि भएका महिलाको सङ्ख्या पुरुषको तुलनामा ४३० ले बढी छ।
सार्वजनिक विवरण अनुसार दार्मा गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ। सो गाउँपालिकामा २४० जनामा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै, बागचौर नगरपालिका क्षेत्रका सरकारी तथा निजी स्वास्थ्य संस्थामा परीक्षण गरिएका बिरामीमध्ये २३७ जनामा सङ्क्रमण देखिएको छ। यी दुई स्थानीय तहमा मात्रै ४७७ जना सङ्क्रमित छन्।
जनस्वास्थ्य कार्यालयका अनुसार सल्यानमा झन्डै तीन महिनायता स्क्रब टाइफसको सङ्क्रमण फैलिरहेको छ। सङ्क्रमणका कारण दार्मा गाउँपालिकाका विभिन्न वडामा एक बालक, एक महिला र ६ जना ज्येष्ठ नागरिक पुरुषको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिकामा पनि एक महिलाको मृत्यु भएको छ।
सङ्क्रमण नियन्त्रण, रोग पहिचान र उपचारका लागि संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। उक्त शिविर मार्फत ज्वरो आएका बिरामीको परीक्षण, सङ्क्रमितको पहिचान र उपचारलाई प्राथमिकता दिइएको छ।
स्वास्थ्यकर्मीको सक्रियता र परीक्षणको दायरा बढेसँगै पछिल्लो समय ज्वरोका बिरामी तथा नयाँ सङ्क्रमितको सङ्ख्या पहिलेको तुलनामा घट्दै गएको देखिन्छ।
यद्यपि सङ्क्रमणको जोखिम पूर्णरूपमा हटिसकेको छैन। सङ्क्रमितको सङ्ख्या घट्न थालेपनि प्रभावित क्षेत्रका स्थानीयमा रोगबारे पर्याप्त जानकारी नहुँदा त्रास कायमै छ। रोगसम्बन्धी गलत सूचना र अफवाहले पनि स्थानीयमा डर बढाएको छ।
स्क्रब टाइफस मुसामा परजीवीका रूपमा रहने सङ्क्रमित माइट (झुसिल्किराजस्तो सानो किरा) को टोकाइबाट मानिसमा सर्ने रोग भएको चिकित्सकहरु बताउँछन्। खेतबारी, झाडी, घाँसे क्षेत्र तथा घरवरपरका झाडीमा काम गर्दा यसको जोखिम हुन सक्छ। चिकित्सकहरुका अनुसार गाउँघरमा पुरुषका तुलनामा यस्ता काम गर्ने महिलाको संख्या बढी रहेका कारण महिलामा बढी सङ्क्रमण देखिएको चिकित्सकहरु बताउँछन्।
यो रोगको सङ्क्रमण पछि उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने तथा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिन सक्छन्। समयमै पहिचान र उपचार नभए रोगले गम्भीर रूप लिन सक्छ।
स्वास्थ्यकर्मीले ज्वरो आएमा बेवास्ता नगरी नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन, झाडी तथा घाँसे क्षेत्रमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउन र घरवरपरको वातावरण सफा राख्न सुझाव दिएका छन्।



