जनकपुर। मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन्।
प्रदेश प्रमुख प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष यादवले ७७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाउँदै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्। यादवलाई सात दलीय गठबन्धनको ७७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित समर्थन प्राप्त भएको छ।
यादवका पक्षमा पेश गरिएको हस्ताक्षरमा नेपाली कांग्रेस (२२), जनता समाजवादी पार्टी नेपाल (१८), जनमत पार्टी (१३), नेकपा (माओवादी केन्द्र) (९), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) (८), नेकपा (एकीकृत समाजवादी) (७) र नागरिक उन्मुक्ति पार्टी (१) गरी कुल ७८ सांसद रहेको गठबन्धनमध्ये ७७ जनाको हस्ताक्षर पेस गरिएको छ। नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह भने शुक्रबार बैठकमा अनुपस्थित रहेको तर शनिबार उपस्थित हुने र समर्थन गर्ने बताइएको छ।
शुक्रवार अपराह्न लोसपाले मुख्यमन्त्रीमा आफ्नो दाबी छोडेपछि कांग्रेसका यादवको नाममा सहमति जुटेको थियो। यसअघि लोसपा र कांग्रेस दुवैले मुख्यमन्त्रीमा दाबी गर्दै आएका थिए। लोसपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोले यादवलाई समर्थन गर्ने लिखित सहमति भएको पुष्टि गरेका छन्।
मधेस प्रदेशसभामा कुल १०७ सदस्य छन्। मुख्यमन्त्री बन्न बहुमतका लागि यहाँ ५४ सिट आवश्यक पर्छ। ७७ सांसदको समर्थनले यादवलाई स्पष्ट बहुमत प्राप्त भएको देखिन्छ। एमालेका २५ सांसद (जसमा एक निलम्बित) बाहेक अन्य सबैजसो दलले यादवलाई समर्थन गरेका छन्।
यसअघि नेकपा एमालेका संसदीय दल नेता सरोजकुमार यादव संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए।
तर, सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिन नसकेपछि उनले बुधवार राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न शुक्रवार साँझ ५ बजेसम्मको समय दिएका थिए। सोही समय सीमाभित्र यादवले दाबी पेस गरेका हुन्।
रौतहटका निवासी यादव यसअघि मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका छन्। उनी मधेस प्रदेशको छैटौँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ। मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले एक साताभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।



