जनकपुर। मधेश प्रदेशका आठ जिल्लामा एक वर्षको अवधिमा ४ सय ७४ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएको तथ्यांक सार्वजनिक भएको छ।
३८ औँ विश्व एड्स दिवसका अवसरमा सोमबार प्रदेश स्वास्थ्य निर्देशनालयले जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो।
स्वास्थ्य निर्देशनालयका एचआइभी सम्पर्क व्यक्ति राजवीर यादवका अनुसार मधेस प्रदेशमा भेटिएका नयाँ सङ्क्रमितहरू अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका पुरुष छन्।
यस्तै महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ब्यक्ति तथा यौनकर्मीहरूसमेत नयाँ संक्रमित छन्। यसवर्ष थपिएका नयाँ सङ्क्रमितमध्ये १६ जना गर्भवती महिला पनि रहेको यादवले जानकारी दिए।
सार्वजनिक तथ्यांकअनुसार सप्तरीमा १८१, बारामा २३८, महोत्तरीमा ३६४, रौतहटमा ३९०, सिरहामा ४२६, सर्लाहीमा ५२०, धनुषामा ८२२ र पर्सामा १ हजार ८९६ जना सङ्क्रमित छन्।
सो तथ्यांकअनुसार मधेस प्रदेशका आठ जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी संक्रमित देखिएका हुन्। मधेस प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ३२ पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै सङ्क्रमितलाई रोगसँग लड्ने क्षमता बढाउने औषधि नियमित रूपमा खुवाउने व्यवस्था गरिएको छ।
सङ्क्रमितहरूलाई दातृ निकायको सहयोगमा नेपाल सरकारले उपलब्ध गराएको एचआइभी एड्स विरुद्धको औषधि मधेस प्रदेशका ११ वटा एआरटी सेन्टरमार्फत स्वास्थ्यकर्मीको निगरानीमा खुवाइँदै आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी सङ्क्रमित बागमती प्रदेशमा ७ हजार १ सय ४ जना रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ सय ३१ जना छन्।



