काठमाडौं। काठमाडौं महानगरपालिकाले बिहीबार महानगर भित्रको एक विद्यालय परिसरमा निर्माण गरिएका २२ वटा अवैध सटर भत्काएको छ।
महानगरपालिकाले जन विकास माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएका अवैध सटरहरु भत्काएको हो। महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार विद्यालयको जग्गामा बनाइएका संरचना व्यापारिक क्रियाकलापमा सञ्चालन गरिएको थियो।
पाण्डेका अनुसार शैक्षिक गतिविधि सञ्चालन हुनुपर्ने ठाउँमा व्यापारिक गतिविधि सञ्चालनमा रोक लगाएर गएको वर्ष सटर खाली गराइएका थिए। ती खाली सटरहरु आज भत्काइएका हुन्।
पाण्डेकाअनुसार यसअघि ती सटरहरुमा फलफूल पसल तथा अन्य साना पसलहरू सञ्चालन गरिएका थिए।
महानगरपालिकाले शैक्षिक संस्थाहरुको जमिन शिक्षण क्रियाकलापमा ल्याउन गएको वर्षदेखि अभियान नै सञ्चालन गरेर काम गरिरहेको छ।



