कपिलवस्तु। सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानको शुभारम्भ गरेको छ।
कपिलवस्तुबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन आम अभियानको शुभारम्भ गरेकी हुन्।
आइतबारदेखि सुरु यो अभियान कपिलवस्तु जिल्लाका ६ वटा स्थानीय तहहरू (कपिलवस्तु न.पा., महाराजगंज न.पा., कृष्णनगर न.पा., मायादेवी गा.पा., यशोधरा गा.पा. र शुद्धोधन गा.पा.) मा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अभियानमा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा तीन प्रकारका औषधिहरू अल्बेन्डाजोल (Albendazole), आइभर्मेक्टिन (Ivermectin) र डी.ई.सी. (DEC) खुवाइनेछ।
यसैगरी यो अभियानमा यस पटक ६ वटा स्थानीय तहका ३ लाख ८९ हजार ५०२ जना लक्षित जनसङ्ख्यालाई औषधि सेवन गराइने मन्त्रालयले बताएको छ।
करिव तीन हप्ता सम्म स्वास्थ्यकर्मीहरूद्वारा नै प्रत्येक घरदैलोमा पुगी औषधि खुवाउने तथा अनुगमन समेत गरिने मन्त्रालयको दाबी छ।
हात्तीपाइले रोग विरुद्धको औषधि २ वर्ष भन्दा मुनिका बालबालिका, गर्भवती महिलाहरू, ७ दिन सम्मका सुत्केरी आमाहरू, ओछ्यानमा परेका सिकिस्त बिरामीहरू तथा छारे रोग भएका विरामीहरुलाई खुवाउन नहुने मन्त्रालयले बताएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हात्तीपाइले रोगबाट बच्न र बचाउन लक्षित बर्ग सबैले हात्तिपाइले बिरुद्धको औषधि सेवन गर्नु पर्ने बताए।



