जनकपुर। कार्यसम्पादन मुल्यांकनमा स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशका ८ जिल्लामा लगातार चौथो वर्ष पनि पहिलो भएको छ।
आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मुल्यांकनमा ८७ पूर्णाङ्कसहित पर्सा जिल्ला प्रथम भएको हो। आइतबार जनकपुरमा आयोजित प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा यो घोषणा गरिएको हो। आर्थिक वर्ष २०७८/७९ देखि मधेशमा कार्यसम्पादन मुल्यांकनमा पर्सा पहिलो हुँदै आएको छ।
मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका ८ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ११ वटा प्रादेशिक अस्पताल र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी कुल २० संस्थाको वार्षिक कार्यसम्पादन मुल्यांकन गर्दै आएको छ।
सो मुल्यांकनमा सेवा प्रवाहमा उत्कृष्टता, सेवाग्राहीको उच्च सन्तुष्टि र नियमित अनुगमन–मूल्याङ्कनमा प्राप्त उच्च अङ्कका कारण स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशमा लगातार चौथो वर्ष पहिलो भएको हो।
यसैगरी कार्यसम्पादनमा सर्लाही जिल्लाले दोस्रो स्थान प्राप्त गरेको छ भने तेस्रो स्थान महोत्तरी स्वास्थ्य कार्यालयले पाएको छ।
प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद कुमार झालाई पहिलो भएकोमा प्रमाणपत्रसहित नगद पुरस्कारले सम्मान गरे।
“गुणस्तरीय स्वास्थ्य सेवा, खोप अभियान, मातृ–शिशु स्वास्थ्य, परिवार नियोजन, सरुवा रोग नियन्त्रणलगायत सबै सूचकमा हामीले उत्कृष्ट अंक ल्याउन सफल भयौँ, यसमा सबै स्वास्थ्यकर्मी, स्थानीय तहहरुको पनि हामीलाई साथ र सहयोग छ।” स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले भने।
ठाकुरका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि निरन्तर चार वर्षसम्म पर्सा स्वास्थ्य कार्यालय प्रदेशमै पहिलो बन्दै आएको छ।
मन्त्रालयले बनाएको मन्त्रालय स्तरीय मूल्यांकन समितिले फिल्ड भिजिट, सेवाग्राही सन्तुष्टि सर्वेक्षण, डाटा गुणस्तर र नियमित रिपोर्टिङलाई मुख्य आधार बनाएर मुल्यांकन गर्दै आइरहेको छ।
कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव, निर्देशकहरू, अस्पताल तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता थियो।



