काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापनमा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ।
बिहीबार सिंहदरबारमा बसेको सरकार र बञ्चरे डाँडाका स्थानीयबिचको बैठकपछि बञ्चरे डाँडामा फोहोर ब्यवस्थापनमा भएको अवरोध अन्त्य गर्न ११ बुँदे सहमति भएको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बञ्चरे डाँडामा फोहोर बिसर्जनसम्बन्धी ११ बुँदे सहमति भएपछि फोहोर ब्यवस्थापनको अवरोध हटेको बताए।
उनले सामाजिक संजाल फेसबुकमा बैठकको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्– 'काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जनमा हुँदै आएको अवरोध निरन्तरको प्रयासपछि भएको ११ बुँदे सहमति पछि हटेको छ। अवरोध हटाउन साथ सहयोग र सहजीकरण गर्नु हुने सबैलाई धन्यवाद।'
सरकार र स्थानीयबिच भएको सहमतिमा स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, ईआइए प्रतिवेदन छिटो तयार गर्नको कन्सलटेन्ट कम्पनीलाई पत्राचार गरी सोको लिखित प्रतिबद्धता समेत लिने, आगामी आ.व. को बजेटमा ईआइए प्रतिवेदन अनुसारको जग्गा अधिकरणको लागि आवश्यक बजेट विनियोजन गर्ने कार्य अगाडि बढाउने सहमति भएको छ।
यस्तै बञ्चरे डाँडाको स्थानीयहरूको लागि तत्काल आ.व. २०८२-८३ को घर टहरा तथा बालीको मुआब्जा दिनको लागि काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्ने सहमति पत्रमा उल्लेख छ।
फोहोर फाल्नको लागि तयार पारेको क्यापिङ लेयर भन्दा पनि बाहिर गएर वरपरको डाँडा कटान गरी फोहोर फालेको कारण लिचेट सिधै पानीको मुहानमा मिसिएको कारण कोल्पु खोला प्रदुषण भई स्थानीयको जीवनयापनमा ठूलो असर परेको भन्दै सो कार्य तत्काल रोकी उक्त कार्य गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने र लिचेटको उचित व्यवस्थाको लागि १५ दिनभित्र विज्ञको टोली तयार गरी फिल्ड निरीक्षण समेत गरी दीर्घकालीन समाधानको बाटो अपनाउने सहमति पत्रमा उल्लेख छ।
यसअघि मन्त्री घिसिङ आफैं बन्चरे डाँडा पुगेर स्थानीयसँग माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर माग सम्बोधन नभएपछि उनीहरू पुन: अवरोधमा उत्रिएका थिए। यो सहमति सँगै अब काठमाडौंंको फोहोर सहजरूपमा उठ्ने अपेक्षा गरिएको छ।
यस्तो छ सहमतिका ११ बुँदा





