बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अब सँधैका लागि खुला हुँदैछ खुलामञ्च, रोपियो ९० लाखको दुबो

अब सँधैका लागि खुला हुँदैछ खुलामञ्च, रोपियो ९० लाखको दुबो

images
२०८२ कार्तिक २७ गते, बिहिवार
२०८२ कार्तिक २७ गते, बिहिवार
  • काठमाडौं। काठमाडौंको मुटु मानिने खुलामञ्च अब सँधैका लागि खुला हुने भएको छ।

    images

    काठमाडौं महानगरपालिकाले खुलामञ्चको सौन्दर्यको काम सकाएसँगै अब खुलामञ्च सँधैका लागि खुला गरिने भएको हो। भुकम्पपछि खुलामञ्च भद्रगोल थियो। त्यस समय पुनर्निर्माणका सामग्री थन्क्याउने थलो बनेको खुलामञ्च अहिले महानगरपालिकाले सौन्दर्यीकरणको काम गरेको हो।

    images

    अहिले खुलामञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चौर, वरिपरि खुला पैदल मार्गले सुन्दर बनाइएको छ।
    चौरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ। 

    काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको खेलकुद पूर्वाधारको मर्मत, संभार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चौरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो। 

    महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ। यही कार्यक्रमबाट खुलामञ्चको चौरमा दुबो रोपिएको हो। सो कार्यका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ।

    चौरको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ। सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको छ।

    पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन्। ती पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन्। पोलहरुमा टु आर्म छन्। यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिनेछ। यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन्। जुन बत्ति रातमा बल्छन् भने दिनमा आफैँ निभ्नेछन।

    अब खुलामञ्च सबैका लागि खुल्ला रहने, बहुउपयोगी स्थानका रुपमा प्रयोग हुनेछ। जहाँ विहान शारीरिक अभ्यास गर्न सकिनेछ भने वालबालिकाहरुका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ। 

    यसैगरी पाका उमेरका व्यक्तिहरुका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुने महानगरपालिकाले बताएको छ। यस्तै मर्निङ् वाकका लागि उपयुक्त मार्ग हुनेछ। युवाहरुलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ।

    चौरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ। यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेल खेल्न सकिन्छ।

    पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको छ। त्यसै सहमतिका आधारमा सोही महिनाको २३ गते खुलामञ्चको ग्रेडिङ् र लेभलिङ्का लागि सम्झौता भएको थियो।

    उक्त  सम्झौताका आधारमा २०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले खुल्ला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको थियो। ग्रेडिङ् र लेभलिङ्को काम सकिएपछि चौरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ।

    यसका लागि चउरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन्।ग्रेडिङ् र लेभलिङ्पछि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब ३ महिना मैदानका ढुङ्गा टिप्न लगाएको थियो।

    खुलामञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ। मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ। चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ।

    `काठमाडौँ टावर निर्माण थालिएसँगै त्यस क्षेत्रबाट गन्तव्य तय गर्ने सार्वजनिक यातायात सञ्चालन गर्न खुलामञ्च प्रयोग भएको थियो। मञ्च र रत्नपार्कको बिच खण्डमा कालो पत्र गरेर बसपार्क सञ्चालन भएको थियो।

    २०७२ सालको भूकम्पपछि क्षति भएको वीर अस्पताल र दरबार हाइस्कूल पुनःनिर्माण कार्यका लागि पनि यो ठाउँ प्रयोग भएको थियो। यस बेला निर्माण सामग्री सञ्चालन राख्ने, विद्यालय सञ्चालन गर्ने र श्रमिकहरुका लागि बासस्थान यही ठाउँमा बनाइएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend