बिरगंज। मधेस प्रदेशमा राजनीतिक गतिरोधकै बिच नयाँ मुख्यमन्त्रीलाई नियुक्त गर्दै सपथ गराइएको छ।
मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले गत शनिबार संसद चलिरहेकै बेला राजीनामा दिएपछि मुख्य पद रिक्त थियो। सोनलले संसदमा विश्वासको मत नपाउने अवस्था बनेपछि राजीनामा दिएका थिए। त्यसपछि मधेस प्रदेशमा नयाँ राजनीतिक गतिरोध देखिएको थियो।
गतिरोधकै बिचमा आइतबार प्रदेश संसदमा रहेका नेकपा एमाले बाहेकका दलले नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा अघि बढ्न सांसदहरूको संख्या नै तोकेर ज्ञापनपत्र बुझाएका थिए। उनीहरुले बुझाएको पत्रमा सोनलले संसदबाट विश्वास पाउन नसकेको भन्दै उनी मुख्यमन्त्री हुँदाकै प्रक्रिया अघि बढाउन भनिएको थियो।
तर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन्।
प्रदेश प्रमुख सुवेदी भण्डारी बिरामी भन्दै जनकपुरबाट आइतबार बिहानै काठमाडौँ हिँडेकी थिइन्। उनले काठमाडौं जाँदै गर्दा बिच बाटोमै नयाँ मुख्यमन्त्रीको शपथ गराएकी हुन्। बर्दिवासको पानस कटेजमा आज बिहानै उनले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।
यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गरिएको भनिएको छ।
यसअघि सोनल संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। उन्ले संसदबाट विश्वाश पाउँन नसक्दा राजीनामा दिएका थिए। यो मौकालाई प्रदेश प्रमुखले आफ्नो अधिकार प्रयोग गर्दै नयाँ मुख्यमन्त्री नियुक्त गरेकी हुन्।




