काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न प्रतिबन्ध लगाइएको छ।
चिसो बढेसँगै त्यस्ता वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेकाले महानगरकाे वातावरण व्यवस्थापन विभागले रोक लगाइएको हो।
विभागका प्रमुख सरिता राईका अनुसार जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो।
राईका अनुसार वायु प्रदुषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्ने हुँदा यस्तो ब्यवस्था गरिएको हो।
यसैगरी सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन पनि खुला रुपमा बस्तु बालेर धुँवा उत्सर्जन घटाउनु पर्ने उनको भनाइ छ।
`याे निर्णयमाथि कसैले अटेर गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ।´ राईले भनिन्।
ऐनअनुसार यस्ता वस्तु जलाउँदा प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ।



