काठमाडौं। आइतबार बिहानै ल्यान्डफिलसाइट बन्चरेडाँडा पुगेका शहरी विकास मन्त्री कुलमान घिसिंङले त्यहाँका स्थानीयको माग १५ दिन भित्र पूरा गर्ने वचन गरेका छन्।
बन्चरेडाँडाका स्थानीयको अवरोधपछि काठमाडौंको फोहोर विगत चार दिनयता उठ्न सकेको थिएन। फोहोर उठन छाडेपछि मन्त्री घिसिङ आफैं आज बिहानै त्यहाँ पुगेका थिए।
मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासी फोहोर फाल्न दिन सहमत भएका हुन्।
मन्त्री घिसिङले मौखिक प्रतिबद्धता जनाएपछि फोहोर फाल्न दिने सहमति भएको नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए।
‘मन्त्री घिसिङले १५ दिन भित्र माग पूरा गर्छु भनेर मौखिक प्रतिबद्धता जनाउनुभएको छ, उहाँको मौखिक प्रतिबद्धतापछि हामी अवरोध नगर्न सहमत भएका छौं।´ तामाङले भने।
यो प्रतिबद्धतापछि काठमाडौंबाट फोहोर बोकेर बीच बाटोमा रोकिएका गाडीहरु बञ्चेरडाँडा हिँडेका छन्।
स्थानीयले सिसडोल बञ्चरेडाँडा –कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि यसअघि भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै आइरहेका छन्।



