काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर प्रहरी थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग भत्काउने तयारी सहित थापाथली पुगेको छ।
थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर त्यहाँ पुगेको हो। सम्पदा क्षेत्रमा संरचना बनाइएको भन्दै महानगरले ट्राफिक कार्यालयमा डोजर चलाउन लागेको हो।
तर नेपाल प्रहरीले भने महानगर प्रहरीलाई ट्राफिक कार्यालय भत्काउन नदिने गरि तयारी गरेको छ। यसो हुँदा अहिले थापाथलीमा नेपाल प्रहरी र काठमाडौं महानगरका नगर प्रहरी आमनेसामने भएका हुन्।
उपत्यका ट्राफिक कार्यालयका डीएसपी सुनिलजंग शाहले गुठी संस्थानबाट २०३२ सालमा सो स्थान उपलब्ध गराइएको हुँदा भत्काउन नदिने बताए।
‘हामीलाई गुठी संस्थानले २०३२ सालमा सो स्थान भोगाधिकार गर्न दिएको हो, ट्राफिकले कब्जा गरेर बसेको होइन, जनताको सेवा गर्ने कार्यालय भत्काउन दिँदैनौं।’ डीएसपी शाहले भने।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले पनि महानगरपालिकाबाट ट्राफिक प्रहरी प्रभाग भत्काउने विषयमा कुनै समन्वय नगरेको जानकारी दिए।
थापाथलीमा अहिले नगर प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ। महानगर प्रहरी मेयर बालेन साहको आदेश कार्यान्वयन गर्न भन्दै थापाथलीमा अघि बढेका छन्।



