काठमाडौं। काठमाडौं सशस्त्र प्रहरी बल नेपालले अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ जना पर्यटकको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये केही पर्यटकमा श्वासप्रश्वासको समस्या देखिएको छ।
सशस्त्र प्रहरीले बिहीबार बिहानसम्म म्याग्दीको अन्नपूर्ण बेस क्याम्पमा रहेका सबै आन्तरिक र बाह्य पर्यटकहरुलाई उद्धार गरिएको जनाएको हो।
सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले अन्नपूर्ण बेस क्याम्पमा घुम्न पुगेका सबैलाई सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेस क्याम्पतर्फ पुगेको थियो। सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित बिहीबार बिहानसम्म १ सय ६२ जनाको उद्धार गरेको हो।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूको डोरीको सहायताले उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले बेसक्याम्प हिंडेका केही पर्यटकलाई बाटोबाट फर्काएको थियो। बुधवारसमेत सशस्त्र प्रहरीले बेस क्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा पुर्याएको थियो।
कार्तिक ११ गते बाटोबाट फर्काइएका र बिहीबार बिहान बेसक्याम्पबाट उद्धार गरेर तल झारिएकासहित सबैलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ।
उनीहरू सबैलाई हिमपात नभएको सुरक्षित स्थानमा राखिएको छ। उद्धार गरिएका केहीमा श्वासप्रश्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठुलो समस्या भने नदेखिएको सशस्त्र प्रहरीले जनाएको छ।



