बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौं महानगरमा ५६ हजार ६७३ जना स्वास्थ्य बीमामा आवद्ध, ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र

काठमाडौं महानगरमा ५६ हजार ६७३ जना स्वास्थ्य बीमामा आवद्ध, ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र

images
२०८२ कार्तिक १२ गते, बुधवार
२०८२ कार्तिक १२ गते, बुधवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाका ५६ हजार ६७३ जना ब्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्।

    images

    काठमाडौं महानगरपालिकाका अनुसार हालसम्म महानगरमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन्।

    images

    यो तथ्यांक बुधबार महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन्।

    सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा महानगरपालिकाबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। उनीहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन्।

    यसैगरी यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिएको र १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको तथ्यांक छ।

    यस्तै १ हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस गरिएको, वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको तथा नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरिएको महानगरपालिकाले जनाएको छ।

    किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण, १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइएको महानगरले भनेको छ।

    यसैगरी वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ गरिएको महानगरले बताएको छ।

    ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र

    महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरिएको समेत बताएको छ। जसअनुसार ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन भइसकेको छ। 

    यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा संचालनमा छन्।

    महानगरपालिकाले यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनीसमेत गरेको छ। 

    यसैगरी २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको, पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिएको तथा डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको महानगरपालिकाले उल्लेख गरेको छ।

    काठमाडौं महानगरभित्र यस वर्ष खोप सेवा प्राप्त गर्नेहरुको संख्या १६ हजार १८८ जना रहेको महानगरले जनाएको छ।

    सो संख्यामा रहेका विभिन्न ब्यक्तिलाई विभिन्न प्रकारका खोप उपलब्ध गराइएको महानगरले बताएको हो।

    यस्तै स्वयमसेविका मार्फत ५९ हजार ६२० जनालाई महानगरबाट सेवा प्रदान गरिएको पनि महानगले भनेको छ।

    यसैगरी १० वर्षदेखि १९ वर्षसम्म उमेर समूहका किशोर किशोरी पोषण कार्यक्रमका लक्षित वर्गको संख्या ७३ हजार ८९२ जना रहेको महानगरको रेकर्डमा छ। यस समूहका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरिएको थियो।

    १३ हजार ६६० जना शिशुको जन्म

    काठमाडौ महानगरभित्र एक वर्ष अवधिमा १३ हजार ६६० जना शिशुको जन्म भएको पनि महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक छ।

    महानगरपालिकाले शिशुको सुरक्षित जन्मका लागि गर्भवती आमालाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाएको छ भने सुत्केरी आमालाई भिटामिन ए र आइरन चक्की प्रदान गरिएको उल्लेख छ। यस्तै उनीहरुलाई उत्तर प्रसुति जाँच सेवा प्रदान गरिएको पनि महानगर बताउँछ।

    खोप अभियानअन्तर्गत २०७३ साल बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुका लागि ओरल पोलियो भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको थियो। 

    २०८१ जेठ १३ गतेदेखि १९ गतेसम्म चलेको कार्यक्रममा २ लाख ३६ हजार १७२ जना बालबालिका अनुमान गरिएकोमा २ लाख १४ हजार १६५ जना अर्थात् ९० दशमलव ६८ प्रतिशतलाई खोप दिइएको महानगरपालिका बताउँछ। ५ वर्ष मुनिका बालबालिकाहरुमा हुने रोग नियन्त्रणका लागि ६६ हजार ५१९ जना लक्षित बालबालिका रहेका थिए। 

    यस्तै एमोक्सिसिलिनबाट ११४ जनाको उपचार गरिएको, १ हजार ९९१ जना बालबालिका पखालाका कारण उपचारका लागि भर्ना भएकोमा १ हजार ९५६ जनालाई जिङ्क र ओरल रिहाइड्रेसन थेरापीबाट उपचार गरिएको महानगरको रेकर्ड छ।

    यसैगरी प्रजनन उमेरका महिलाहरुका लागि गरिएको क्यान्सर परीक्षण शिविरमा ३ हजार १६ जनाको नाम दर्ता भएकोमा ६७० जनाको मेमोग्राम गरिएको तथा ३७० जनाको स्तन परीक्षण गरिएको छ। जसमा ५ जनाको स्तनको वायोप्सी गर्दा १ जनामा क्यान्सर देखिएको छ।

    विद्यार्थीको आँखा परीक्षण

    सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा गरी ११ हजार ६३७ जनाको आँखा परीक्षण गरिएको महानगरपालिका बताउँछ।

    यस्तै नसर्ने खालका रोगको कारण थाहा पाउन १९ हजार २७७ जनामा धुम्रपान र मद्यपान सेवनको सर्वेक्षण गरिएकोमा सर्वेक्षणमा सहभागीमध्ये ८ दशमलव ४ प्रतिशतले नियमित सेवन गर्ने गरेको पाइएको छ।

    सर्वेक्षणमा सहभागीमध्ये ७८ दशमलव ६ प्रतिशतले कहिल्यै सेवन नगरेको बताएका थिए। यस्तै २३ दशमलव १ प्रतिशले कहिलेकाहीँ मद्यपान सेवन गर्ने गरेको र ६८ दशमलव ५ प्रतिशतले कहिल्यै मद्यपान नगरेको बताएका थिए।

    यस वर्ष कति छ वजेट?

    यस आर्थिक वर्षका लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपैँया बजेट विनियोजन गरेको छ। 

    जसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय, नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय, र प्रदेश सरकारबाट प्राप्त २ करोड ९१ लाख ८० हजार छ।

    यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको महानगरपालिका बताउँछ।

    नेपाल सरकारबाट प्राप्त रकमको बित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको तथा प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको महानगर बताउँछ। कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ।

    यस वर्षको योजना के छन्?

    गएको वर्षका सिकाइबाट विभागले यस वर्ष स्वास्थ्य विमा प्रथम विन्दु विस्तार गर्ने, केन्द्रीय प्रयोगशाला सञ्चालन गर्ने, सेवाग्राहीहरुको डिजिटल हेल्थ प्रोफाइल तयार पार्ने योजना कार्यान्वयन गरिरहेको छ।

    वडाबासीलाई प्राथमिक उपचार र आकस्मिक उपचार सन्बन्धी तालिम दिने, सामुदायिक विद्यालयहरुमा लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने, आँखा, दाँत र रक्त अल्पताको स्क्रिनिङ् तथा प्रारम्भिक उपचार गर्ने, ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने योजनालाई कार्यान्वयन गरिँने महानगरले उल्लेख गरेको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend