काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सूर्य उपासनाको पर्व छठ पूजाका लागि महानगर भित्रका स्थानहरुलाई भब्य र सुरक्षित बनाइएको बताएको छ।
महानगरपालिकाले छठ पर्वलाई भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन विशेष तयारी गरिएको जनाएको छ।
महानगरले यस वर्षका लागि कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४) र रामघाट (वडा २०), बालाजु २२ धारा (वडा १६) गरी ९ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको जनाएको छ।
यी स्थानहरूमा सजावट र स्वच्छता कायम गर्ने कार्य सम्पन्न भएकाे महानगरले बताएको हो।
महानगरले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि घाट, पोखरी, दह तथा नदी किनारहरूमा सरसफाइ, व्यवस्थापन र सजावट गरेको छ।
महानगरले छठका लागि उपासना गरिने स्थानहरूमा जेट–मेसिन प्रयोग गरी पानीले पखाल्ने, डेसिबल मेसिन र ब्रुमरमार्फत सरसफाइ बलियो बनाउने कार्य तीव्र रूपमा सञ्चालन गरिरहेको छ।
सरसफाइ अभियानमा ३५० भन्दा बढी सरसफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरिएको छ। यस क्रममा जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी तयारी गरिएको महानगरले जनाएको छ।
भक्तजनलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन पोखरी, ताल र नदी किनार सफाइसँगै उज्यालोको व्यवस्थापन, यात्रु मार्ग, सुरक्षा र शौचालय सुविधामा पनि ध्यान दिइएको छ।
उपासनास्थल वरिपरि सफा, स्वच्छ र धार्मिक वातावरण निर्माणलाई महानगरले प्राथमिकता दिएको छ।
आवागमन व्यवस्थापनका लागि महानगरले तोकिएका स्थानमा मात्र सवारी पार्किङ गर्न, ‘पिक एण्ड ड्रप’ प्रणाली अपनाउन भक्तजनलाई आग्रह गरेको छ। पूजाअर्चनामा सहभागी भइरहँदा सहजता, भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायहरू सतर्क रहने महानगरले जनाएको छ।
सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको छठलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीक मानिन्छ। आमाको ममता, परिवारको समर्पण र समाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गरिने धार्मिक विश्वास रहेको छ।
“हाम्रो संस्कृति हाम्रो गर्व, आस्थाको उज्यालो हाम्रो पहिचान” भन्दै काठमाडौँ महानगरपालिकाले सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ तथा आमाबुबालाई छठ पर्वको शुभकामना व्यक्त गरेको छ।
पूजाअर्चना तथा उपासनाका क्रममा कुनै समस्या परेमा सहजीकरणका गर्न भन्दै महानगरले निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
कल सेन्टर : ११८० / १६६००१०५५११
०१–५९०१७८३ / ०१–५६०१७४
मोबाइल : ९८५१३५६५०९



