काठमाडौं। नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ।
शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले जंगीअड्डामा पत्रकार सम्मेलन गर्दै जेन-जी आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारीको मृत्यु भएको बताएको हो। उनीहरू २३ गतेकै प्रदर्शनका क्रममा मारिएको सेनाले भनेको छ।
पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले प्रदर्शनका क्रममा मृत्युु भएका बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको बताए। यी सबैको २४ गते मृत्यु भएको उनले स्पष्ट पारे। सेनाका अनुसार टिचिङ अस्पतालमा रहेका ११ वटा शवको भने अझै पहिचान खुल्न सकेको छैन।
सेनाका अनुसार आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
यसैगरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी छ।
आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन : नियन्त्रणमा लिएर कारागार फिर्ता गराइएको सेनाले जनाएको छ।




