बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नयाँ बानेश्वर क्षेत्रका साना होटलमा महानगरको अनुगमन : कतै म:ममा किरा, कतै म्याद गुज्रिएका वस्तु

नयाँ बानेश्वर क्षेत्रका साना होटलमा महानगरको अनुगमन : कतै म:ममा किरा, कतै म्याद गुज्रिएका वस्तु

images
२०८२ आश्विन ३० गते, बिहिवार
२०८२ आश्विन ३० गते, बिहिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ वानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुरेण्ट व्यवसायमा अनुगमन गरेको छ।

    images

    अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ। अधिकांश व्यवसायमा भान्छाको सरसफाइ कमजोर, किट नियन्त्रण अभाव र मापदण्डअनुरूपको संरचना नपाइएको महानगरपालिकाले जनाएको छ।

    images

    काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार संक्रमण सानो लापरबाहीबाट पनि फैलिन सक्ने भएकाले अनुगमनका क्रममा ब्यवसायीलाई सरसफाइ, मापदण्ड लगायतका विषयमा सचेत गराइएको जानकारी दिए।

    उनले अनुगमन व्यवसायीलाई तर्साउने उद्देश्यले नभई, स्वच्छ र जिम्मेवार व्यवसाय सञ्चालनका लागि हौसला दिने उद्देश्यले गरिएकोसमेत बताए।

    “महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो।” न्यौपानेले भने।

    अनुगमनका क्रममा सचेत गराइएका विषयलाई अटेर गरेमा भने कानुनबमोजिम कारवाही गर्ने महानगरले चेतावनी दिएको छ। 

    महानगरले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। महानगरले सोझै कारवाहीमा जानुभन्दा पहिले व्यवसायीलाई तालिम दिने, सम्झाउने र सचेत गराउने कार्य गरिरहेको भनेको छ।

    काठमाडौँ महानगरपालिका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले सशक्तिकरण, अनुगमन र नियमनलाई अहिले प्राथमिकता दिएको छ।

    उनले भने, “हामी बजारमा कस्तो अवस्था छ भनेर बुझ्दैछौँ, व्यवसायीहरू खाद्य स्वच्छता र गुणस्तरीयतामा कत्तिको सचेत हुनुहुन्छ भनेर मूल्याङ्कन गर्दैछौँ। राम्रो गर्नेलाई हौसला दिन्छौँ, कमजोरी देखिए सम्झाउँछौँ, सचेत गराउँछौँ; त्यति गर्दा पनि अटेर गर्नेलाई कानुनबमोजिम कारवाही हुन्छ।”

    अनुगमन टोलीले नयाँ वानेश्वरका पोखरेली लुम्बिनी तन्दुरी भोजनालय, सनराइज बेकरी क्याफे, अम्बला रेष्टुरेण्ट, सुरेन्द्र पानीपुरी पसल, के.एम. टेष्टी म:म होटेल, रेसुंगा लोकल भान्साघर, न्यु लुम्बिनी तन्दुरी भोजनालय लगायतका खाद्य व्यवसायमा अनुगमन गरेको थियो।

    पोखरेली लुम्बिनी तन्दुरी भोजनालयमा भान्छाको सरसफाइमा पूर्ण बेवास्ता गरिएको, मास्क, एप्रोन, पञ्जा प्रयोग नगरिएको, काँचो र पकाइएका वस्तु सँगै राखिएको, म्याद गुज्रिएका वस्तु राखिएको र डस्टबिनको बिर्को खुल्ला रहेको जस्ता धेरै कमजोरी पाइएको छ। न्यु लुम्बिनी तन्दुरी भोजनालयमा पनि सरसफाइ अत्यन्त कमजोर, भान्छाको संरचना कमजोर र व्यवसाय नवीकरण नगरिएको पाइएको छ।

    यस्तै सनराइज बेकरी क्याफेमा सरसफाइ सामान्य भए पनि खाद्य मापदण्डअनुसारको व्यवस्थापन नभएको, फ्रिजमा टाइमकार्ड नलागेको र खानेकुरा असन्तोषजनक रूपमा भण्डारण गरिएको भेटिएको महानगरले जनाएको छ।

    अम्बला रेष्टुरेण्टमा किट नियन्त्रणको राम्रो व्यवस्था नभएको, खाने तेलको टी.पी.एम. ३५ पाइएको, सो तेल प्रयोग गरी बनाइएका लिट्टी र सेलरोटी करिब पाँच किलो र तेल सात लिटर तत्कालै नष्ट गरिएको थियो। 

    सुरेन्द्र पानीपुरी पसलमा खाद्य अनुज्ञापत्रविनै बिक्री गरिएको, पानीपुरीको झोल मापदण्डअनुसार नबनाइएको र फ्रिज अव्यवस्थित राखिएको पाइएको छ।

    त्यस्तै, के.एम. टेष्टी म:म होटेलमा पनि भान्छाको सरसफाइमा बेवास्ता गरिएको, किरा भेटिएको, खाद्य वस्तुको भण्डारण अव्यवस्थित भएको र आगोजन्य जोखिम नियन्त्रण उपकरणको व्यवस्था नगरेको पाइएको छ।

    रेसुङ्गा लोकल भान्साघरको अवस्था तुलनात्मक रूपमा राम्रो पाइएको छ। सरसफाइ सामान्य रहेको, फ्रिजमा खाद्यवस्तु छोपेर राखिएको र व्यवस्थापन अन्य व्यवसायभन्दा राम्रो रहेको पाइएको छ।

    महानगरले मापदण्ड विपरीत सञ्चालन भएका व्यवसायलाई खाद्य अनुज्ञा–पत्रमा तोकिएका वस्तु मात्र प्रयोग गर्न, सरसफाइमा विशेष ध्यान दिन, मास्क–एप्रोन–पञ्जा जस्ता खाद्य स्वच्छता मानक पालना गर्न, फोहोर व्यवस्थापनमा डस्टबिनको प्रयोग गर्न, व्यवसाय दर्ता समयमा नवीकरण गर्न र मापदण्डअनुसार व्यवसाय सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ। साथै यथाशीघ्र स्पष्टिकरणसहित महानगरमा उपस्थित हुन भनिएको छ।

    काठमाडौँ महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपाने, सल्लाहकार सन्तोष गिरी, फुड टेक्नोलोजिस्ट अधिकृत अनिल बस्नेत र अशोक पराजुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत दृष्टि ढकाल र सरोज पौडेल, काठमाडौँ महानगरपालिका नगर प्रहरी सहायक निरीक्षक नमराज अधिकारीलगायतको टोलीलीले अनुगमन गरेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend