बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा सुरुभयो एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली

काठमाडौंमा सुरुभयो एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली

images
२०८२ आश्विन २९ गते, बुधवार
२०८२ आश्विन २९ गते, बुधवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान प्रारम्भ भएको छ।

    images

    लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गरेका हुन्। वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिने उनले जानकारी दिए।

    images

    प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१।८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो। यसको लागत ४५ लाख रुपियाँ हो। ६ हजार ८५० घर संख्या रहेको वडाभित्र २०८२ कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना रहेको तिवारी बताउँछन्। सो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ।

    काठमाडौँ महानगरपालिकाले विगत २ दशक देखि मेट्रिक ठेगाना प्रणाली कार्यान्वयन गरेको थियो। यो प्रणालीलाई रुपान्तरण गर्दै वडा नम्बर २६ ले प्रविधि सुहाउँदो डिजिटल ठेगाना प्रारम्भ गरेको हो।

    वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना तथा बाटोका नामहरुलाई यथावत राखी क्युआर कोड र चिप्स सहितको ठेगाना प्लेट जडान हुनेछ।

    उनले भने, ‘जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोड सँगै युनिभर्सल गुगल प्लस कोड हुनेछ। प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाए मात्र पुग्छ। यसमा भएको क्युआर स्क्यान गरेपछि लोकेसनमा पुग्न सकिन्छ।´

    एलमुनियममा लेजर मार्फत खोपेर तयार गरिएको एनएफसि ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ। यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन। यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरि बनाइएको तिवारीको दाबी छ।

    नम्बर प्लेटमा राखिएको क्युआर कोडको प्रयोगलाई घरमा आउने पाहुनाले डोर बेलको रुपमा प्रयोग गर्न सक्छन्। तिवारीका अनुसार सो मार्फत फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्यून लागतमा काम गर्न सकिन्छ।

    वडाध्यक्ष तिवारी भन्छन, ‘यो काम विद्युतीय शासनका लागि महत्वपूर्ण आधार हो। विद्युतीय प्रतिस्पर्धा, विद्युतीय डेलिभरी, विद्युतीय हाजिरी, बायोमेट्रिक्स, विद्युतीय शिफारिस, विद्युतीय चिठ्ठी पत्र, विद्युतीय टिप्पणी जस्ता विद्युतीय सेवा प्रक्रिया महानगरपालिकाले कार्यान्वयनमा ल्याइसकेको छ।’

    ‘विद्युतीय शासनको पहिलो पूर्वाधार भनेकै सेवाग्राहीको घर र ठेगाना प्रणाली हो। यसबाट विद्युतीय नागरिक सहभागिता सुनिश्चित गराउन सकिन्छ। यो भनेको शासन प्रणालीमा नागरिकको प्रत्यक्ष सहभागिता हुने अवसर हो। आफू बसेकै ठाउँबाट सेवा प्राप्त अवस्था हो। यो आधारमा टेकेर धेरै काम गर्न सकिन्छ। यो प्रविधि अन्य वडाहरुमा पनि विस्तार हुँदै जानेछ।’ वडा अध्यक्ष तिवारीले भने।

     वडा सचिव केदार रिमालले यसअघि करदाता र सेवाग्राहीको पहिचान गर्न नै कठिन रहने गरेको तर यस घर नम्बर प्रणालीले सेवा प्रवाह, राजस्व संकलन जस्ता कामलाई स्मार्ट बनाउन सहयोग हुने बताए।

    उनले कुनै पनि प्रकोपका समयमा घटना स्थलमा छिटो पुग्न, आवश्यकताका आधारमा खोज तथा उद्धा र राहतका काम गर्न तथा यस्ता प्रकृतिका सेवाका लागि महत्वपूर्ण आधार बन्ने विश्वास पनि व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend