बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौं महानगरका ३२ वटै वडामा नि:शुल्क स्वास्थ्य सेवा : दुई महिनामा ४१ हजार ९७१ जनाले लिए सेवा

काठमाडौं महानगरका ३२ वटै वडामा नि:शुल्क स्वास्थ्य सेवा : दुई महिनामा ४१ हजार ९७१ जनाले लिए सेवा

१० स्वास्थ्य प्रवर्धन केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम लागू

images
२०८२ आश्विन २९ गते, बुधवार
२०८२ आश्विन २९ गते, बुधवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा नि:शुल्क स्वास्थ्य सेवा लागू भएको छ। महानगरपालिकाले सबै वडामा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरू स्थापना गरी नियमित रूपमा सेवा दिइँदै आएको हो।

    images

    काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आफू निर्वाचित भएको पहिलो दिनदेखि नै “स्वास्थ्य सबै नागरिकको अधिकार हो” भन्ने विश्वासका साथ अघि बढिरहेको बताए।

    images

    “स्वास्थ्य सबै नागरिकको अधिकार हो भन्ने विश्वासका साथ अघि बढिरहेका छौँ। यही विश्वासका आधारमा आज काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरू स्थापना भई नियमित रूपमा सेवा दिइँदै आइएको छ।´´ नगरप्रमुख शाहले सो बारे सामाजिक संजालमार्फत भनेका छन।

    उनले ३२ मध्ये १० वटा केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पनि लागू भइसकेको जानकारी दिएका छन्। पहिलो आर्थिक वर्ष २०७९/८० मा सबै वडामा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यका साथ पूर्वाधार विकासमा जोड दिएको उनको भनाइ छ। 

    त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा १ लाख २४ हजार ४४ जना नागरिकले सेवा लिएको, २०८१/८२ मा यो संख्या बढेर १ लाख ९४ हजार १९३ पुगेको उनले भनेका छन्।

    महानगरद्वारा संचालित केन्द्रबाट चालु आर्थिक वर्षको श्रावण र भदौ महिनामा मात्र ४१ हजार ९७१ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिइसकेको प्रमुख शाहको दाबी छ। जसको आधारमा यो वर्ष कम्तीमा २ लाख ५० हजार नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अनुमान गरिएको उनले भनेका छन्।

    महानगरले स्वास्थ्य केन्द्रहरूमार्फत एमबीबीएस चिकित्सकमार्फत हरेक दिन नियमित उपचार सेवा दिंदै आएको छ भने निश्चित तालिकाअनुसार विशेषज्ञ चिकित्सक सेवा पनि सञ्चालन हुँदै आएको छ। 

    यसैगरी शहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट सम्भव नभएका उपचारका लागि सेवाग्राहीलाई सिभिल, वीर र टिचिङ अस्पतालमा रेफर गरिने गरिएको छ। महानगरपालिकाले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य बीमा, निःशुल्क उपचार, रेफरल सेवा र विशेषज्ञ सल्लाह सबै एकीकृत रूपमा अघि बढाउँदै आएको छ।

    “हामी विश्वास गर्छौँ, स्वास्थ्यमा लगानी भनेको नागरिकको जीवनमा लगानी हो। त्यसैले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै नलागोस् भन्ने सोचका साथ महानगरले ‘आरोग्य जीवन स्वर्णिम योजना’ मार्फत प्रतिरोधात्मक स्वास्थ्य सेवामा पनि जोड दिएको छ।” प्रमुख शाहले भने।

    सो योजनाअन्तर्गत विद्यालय स्वास्थ्य शिक्षा, जनचेतना कार्यक्रम, मानसिक स्वास्थ्य, दीर्घरोग तथा सरुवा रोग नियन्त्रण, योग र आयुर्वेद सेवा, पोषण कार्यक्रम र खोप अभियान जस्ता कार्यक्रम नियमित रूपमा सञ्चालनमा छन्। स्वास्थ्य केन्द्रहरूमा २५० भन्दा बढी किसिमका निःशुल्क औषधि, प्रयोगशाला र रेडियोलोजी सेवा, फिजियोथेरापी र मातृत्व सेवा उपलब्ध छन्। साथै एकीकृत एम्बुलेन्स सेवा पनि तुरुन्तै उपलब्ध छ।

    “हामी विश्वस्त छौँ-उपचार नपाएर अब कसैले ज्यान गुमाउनुपर्ने छैन। निःशुल्क स्वास्थ्य सेवा तपाईंको हक हो, र त्यसलाई सुनिश्चित गर्नु हाम्रो प्रतिबद्धता हो।” महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक संजाल मार्फत भनेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend