काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाबाट अति प्रभावित भएका परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ।
नेपाल रेडक्रस सोसाइटीले पाँचथर, इलाम, झापा, मोरङ, सर्लाही, महोत्तरी, रौतहट, बारा र सुनसरी जिल्लाहरूका बाढी र पहिरो प्रभावित परिवारलाई राहत सामग्री (खाद्य र गैह्र खाद्य) वितरण गरेको हो।
वितरित सामग्रीहरूमा २१२ थान त्रिपाल, कम्वल ४७ सय २२ थान, हाइजिन किट ५८१ थन (५०० थान रोटरी क्लब बिर्तामोडसँगको समन्वयमा), म्याट्रेस ४६ सय ४६ थान, बाल्टिन ८१, झुल १३ थान लगायत सामग्रीहरू छन्।
यस्तै अन्य निकायसँगको समन्वयमा झापामा २५ सय ६७ परिवारलाई राहत सहयोग गरिएको छ।
रेडक्रस केन्द्र तथा प्रादेशीक गोदामबाट ९०० परिवारका लागि सामग्री वितरणको लागि पठाईएको छ। यस्तै त्यसबखत प्रभावित क्षेत्रमा २०० जना स्वयंमसेवक परिचालित गरिएको रेडक्रसले जनाएको छ।
स्वंयम सेवकहरूले सुरक्षा निकायसँगको समन्वयमा खोज तथा उद्धार, प्रारम्भिक क्षतिको तथ्याङ्क सङ्कलन, अस्थायी आवास तथा खाना व्यवस्थापन र राहत वितरणलगायतका कार्यमा सहयोग पुर्याएका थिए।




