बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा गत वर्षको तुलनामा डेंगी सङ्क्रमितको सङ्ख्यामा कमी, कात्तिकसम्म जोखिम

काठमाडौंमा गत वर्षको तुलनामा डेंगी सङ्क्रमितको सङ्ख्यामा कमी, कात्तिकसम्म जोखिम

images
२०८२ आश्विन २५ गते, शनिवार
२०८२ आश्विन २५ गते, शनिवार
  • काठमाडौं। काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेंगी सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ। तर आगामी कात्तिकसम्म सङ्क्रमणको जोखिम कायम रहेको महानगरले जनाएको छ।

    images

    सङ्क्रमणको त्रास कायम रहेकाले कामपाले डेंगी सार्ने लामखुट्टेको वासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यलाई तीव्र बनाइरहेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका स्रोत व्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए।

    images

    उनका अनुसार वडा र समुदायस्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालगायत स्थानीयको सहभागितामा लार्भा खोज र नष्ट गर अभियान जारी छ।

    गत आवको भदौमा ६८६ जनामा सङ्क्रमण भएको थियो भने चालु आवको भदौमा १९७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको भुसालले जानकारी दिए। उनका अनुसार गत आवको तुलनामा चालु आवका सङ्क्रमितको सङ्ख्या कमी आएको हो।

    स्रोत व्यक्ति भुसालले भने, “डेंगीको सङ्क्रमण कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ।” कामपामा पहिलोपटक २०७५ सालमा चमती क्षेत्रमा एक जना महिलामा यो सङ्क्रमण देखिएको उनले बताए। 

    सामान्यतया बर्खायाममा देखिने यो सङ्क्रमणको वृद्धिदर भदौ, असोज र कात्तिकसम्म रहने कामपाले जनाएको छ। यी तीनै महिनालाई तुलना गर्दा यस वर्ष सङ्क्रमण दरमा कमी आएको उनले जानकारी दिए।

    “डेंगी सङ्क्रमण फैलाउने ‘एडिस’ जातको लामखुट्टे जमेको पानीमा बस्छ। यस कारण सफा पानी राखिने भाँडाहरूमा पानी भरेर राख्नु हुँदैन। पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायत जम्ने पानीमा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन”, उनले भने।

    नेपालमा २०६१ सालदेखि डेंगी देखिन थालेको हो। कामपाभित्र सन् २०२२ मा दुई हजार ९७३ जनामा डेंगी सङ्क्रमण देखिएको थियो। सन् २०२३ मा ६४३, सन् २०२४ मा २ हजार ८४ जनामा सङ्क्रमण देखिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण शाखाले जनाएको छ। गत पुसदेखि अहिलेसम्म २४८ जनामा सङ्क्रमण देखिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend