काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा १ हजार २६० जनामा दृष्टि सम्बन्धी समस्या भेटिएको छ।
महानगरपालिकाको स्वास्थ्य विभागले नेपाल नेत्र ज्योती संघ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्ने गरी विद्यालय छनोट गरेर आँखा जाँच गरेको थियो।
गत साउन ५ गतेदेखि असार ६ गतेसम्म गरिएको आँखा जाँचमा कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रालाई सहभागी गराइएको थियो। जसमा ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा थिए।
जाँच गरिएकामध्ये करिब १० दशमलव ८३ प्रतिशत अर्थात् १ हजार २६० जना छात्रछात्रामा नजिकको देख्न नसक्ने या टाढाको देख्न नसक्ने खालका समस्या पाइएको हो।
यस्तै करिब २ दशमलव ६१ प्रतिशत अर्थात् ३०४ जनामा आँखामा हुने विभिन्न खालका रोग भेटिएको थियो। जाँचपछि आधारभूत र आवश्यकता परेका ११ प्रकारका औषधिहरु वितरण गरिएको महानगरपालिकाले जनाएको छ।
विद्यार्थीहरुमा भएको सामान्य आँखाको रोग, दृष्टि दोषहरुमा टाढाको दृष्टि दोष तथा नजिकको दृष्टिमा हुने त्रुटिको अवस्था पत्ता लगाउन जाँच कार्यक्रम गरिएको हो।
आँखाको नियमित उपचार गर्नु पर्ने विद्यार्थी पहिचान गर्ने, पहिचान भएका सामान्य समस्याको तत्काल उपचार गर्ने, विद्यार्थीहरुमा आँखाको स्वास्थ्य र स्वच्छताका लागि हेरचाह, स्याहारको बानी विकास गराउने, विद्यार्थी, शिक्षक र अभिभावकमा आँखाको स्वास्थ्यका विषयमा सचेतना वृद्धि गराउने कार्यक्रमको उद्देश्य थियो।
यस जाँचबाट विद्यालय उमेरका बालबालिकाहरुको दृष्टि बचाउन विद्यालय स्तरीय आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, यसका लागि बहुक्षेत्रीय साझेदारिता बढाउनु पर्ने, तथ्याङ् व्यवस्थापन र विश्लेषणका आधारमा कार्यक्रम तर्जुमा गर्दै लैजानु पर्ने, विद्यालयका शिक्षक र कर्मचारीहरुमा दृष्टि दोष पत्ता लगाउने र समाधानका उपायमा काम गर्ने क्षमता बढाउनु पर्ने, एकीकृत र डिजिटल सेवा विकास गर्नु पर्ने र यी सबै काम गर्न नीति तर्जुमा गर्नु पर्ने सुझाव प्राप्त भएको महानगरपालिकाले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार, विश्वमा कम्तीमा २ करोडभन्दा धेरै मानिसमा दृष्टि कमजोरी वा दृष्टिविहीनता छ। जसमध्ये १ करोड जनाभन्दा धेरै समस्या रोकथाम गर्न सकिने, उपचार गर्न सकिने खालका छन्।
अंग्रेजी वर्षको हरेक अक्टोवर महिनाको दोस्रो विहीबार विश्व दृष्टि दिवसका रुपमा मनाइन्छ। यस वर्ष दृष्टि, प्रविधि र भविष्य नारासहित दिवसका कार्यक्रम मनाइँदैछन्।



