पाल्पा। लुम्बिनी मेडिकल कलेज पाल्पाका आवासीय (रेसिडेन्ट) चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन।
स्वास्थमन्त्री पौडेललाई बुझाइएको तीन बुँदे मागसहितको ज्ञापनपत्रमा निजी मेडिकल कलेजका एमडी, एमएस, एमडिएस आवासीय चिकित्सकहरुले मासिक पारिश्रमिक (सरकारी आठौँ तहसरह) पाउनु पर्ने लगायतका माग राखिएको छ।
यसैगरी ज्ञापन पत्रमा एमडी, एमएस, एमडिएसको म्याचिङ प्रक्रिया सच्याउन माग गरिएको छ चिकित्सा शिक्षा आयोगद्वारा अगाडी बढाइएको निर्णय नमान्ने उल्लेख छ। यस्तै ज्ञापनपत्रमा निजी मेडिकल कलेजलाई एमबिबिएस, बिडिएस, एमडिएस, एमएस, एमडिएस, डिएम, एमसिएच कार्यक्रमको सम्बन्धन खारेज, बिमालगायत सरकारी अनुदानका सम्पूर्ण कार्यक्रम रद्द गर्नेलगायतका माग गरेका राखिएको छ।
यस्तै चिकित्सकहरुले स्नातकोत्तर कार्यक्रमलाई पूर्ण वैज्ञानिक बनाउन स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिसँग प्रतिबद्धता जनाइएबमोजिम छुट्टै नियामक अङ्गको व्यवस्थासहित कार्य समय, बिदा, पारिश्रमिक, परीक्षाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने व्यवस्था गर्न, विश्वविद्यालय र मेडिकल कलेज प्रशासनको आचरण र व्यवहार, अध्यापक जनशक्तिहरुको आचरण र व्यवहारलगायत विषय समेटी स्नातकोत्तर कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गर्ने ड्राफ्टिङ कमिटी बनाइनुपर्ने माग ज्ञापनपत्रमा राखिएको छ।
मेडिकल कलेजका विद्यार्थी डा दीपक कँडेलले आफ्ना मागहरु पूरा नहुँदासम्म काममा नजाने निर्णय गरिएको बताए।
‘हामीले तीन बुँदे माग राखेका छौं, हाम्रा माग पूरा नहुँदासम्म प्रदान गर्दै आएका सेवाहरु बहिष्कार गर्नेछौं।’ कँडेलले भने।
ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले आवासीय चिकित्सकका धेरै माग सम्बोधन भइसकेको र केही मागहरु सम्बोधन हुनेक्रममा रहेको बताए। उनले ती मागहरुसमेत तत्काल सम्बोधन गरिने भन्दै सरकारले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित निजी मेडिकललाईसमेत आग्रह गरिसकिएको बताए।
अस्पतालमा चिकित्सकले काम बहिष्कार गर्दा सेवा प्रभावित भएको छ।



