सिरहा। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालसँगै राजमार्गमा संचालित होटलकोसमेत अनुगमन सुरु गरेका छन।
आइतबार मुख्यमन्त्री सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्गमा संचालित होटलको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालित अस्पताललाई कारबाही प्रक्रिया अघि बढाइएको छ। मुख्यमन्त्री सिंह अनुगमनमा आएको जानकारी पाएपछि अस्पतालका कर्मचारी बिरामी नै छाडेर भागेका थिए। सो क्रममा दुई जना कर्मचारीलाई पक्राउ गरिएको छ।
यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउसमा अखाद्य वस्तु भेटिएपछि सिल गरेको छ।
सो होटलमा कुहिएका वस्तुको प्रयोग गरिएको पाइएपछि सिल गरिएको हो। मुख्यमन्त्री सिंहका अनुसार होटल फोहोर रहेको पाइएपछि अनुगमन गरिएको हो। उनले सेवाग्राहीको स्वास्थ्यलाई बेवास्ता गरेर मनोमानी गर्ने छुट कसैलाई पनि नभएको बताउदै कारवाही गरिने बताए।



