काठमाडौं। पोखराबाट फर्किएको केही दिन नबित्दै पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा पुगेका छन।
स्कुरबार कुरिनटार आएर बसेका पूर्वराजा शाहले शनिबार बिहानै गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा अर्चना गरेका छन्। शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ।
गोरखा दरबार शाहवंशका राजाहरूको आफ्नो घर भएको भन्दै त्यहाँ पूर्वराजपरिवारका नाममा नित्यपूजा हुने गरेको शाहको भ्रमणको संयोजन गरिरहेका संस्कृतिविद् जगमान गुरुङले बताए।
सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका छन। उनको स्वागतका लागि पाँच सय एक सदस्यीय समिति बनाइएको थियो।
गोरखामा रहँदा पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम तय छ। उनले आइतबार मनकामना माताको दर्शन गर्ने छन।
उनी दुई साता अघिमात्र पोखराबाट काठमाडौँ फर्किएका थिए। एक महिना पोखरा बसेका शाहले त्यहाँ बसाईका क्रममा स्याङ्जा र बागलुङको भ्रमण गरेका थिए। सो क्रममा नागरिकले उनको भव्य स्वागत गरेका थिए ।
पोखरा बसाइका क्रममा उनले प्रजातन्त्र दिवसका दिन जारी गरेको भिडिओ सन्देशमा ‘देश जोगाउने हो भने आफूलाई साथ दिन’ आह्वान गरेका थिए।
उनले देशमा व्यवस्था फेरिए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै असन्तोष व्यक्त गरेका थिए।आफूले जनताको भलोका लागि पद र सुखसुविधा त्यागेको बताएका पूर्वराजा शाहले त्यसलाई कमजोरी नठान्न चेतावनी दिएका थिए।
शाहको यो सन्देशपछि राजावादीहरु उत्साहित भएका छन् भने गणतन्त्रवादी रुष्ट बनेका छन्।



