चितवन। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले अस्पतालको छड्के अनुगमन सुरु गरेका छन।
शुक्रबार मन्त्री थापाले बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा छड्के अनुगमन गरेका हुन।
अनुगमनमा मन्त्री थापाले स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलालसहितलाई साथमा लगेका छन।
अनुगमनका क्रममा अस्पतालहरुको सेवा प्रवाह, उपलब्ध स्रोत साधन तथा संरचनाको अवस्थाबारे जानकारी लिएको मन्त्री थापाले जानकारी दिए।
अनुगमनपछि मन्त्री थापाले अस्पतालले आफ्नो क्षमता भन्दाबढी बिरामीको उपचार गरिएको र सेवा प्रवाहमा चुस्तता देखाएको पाइएको बताए। अस्पतालहरुले नागरिकलाई सेवा प्रदान गर्दा कमजोरी गर्न नहुनेमा उनको जोड छ।
‘मन्त्रालयले प्राथमिकता अनुसार बजेट निर्धारण गरेर अस्पताललाई थप सहयोग गर्नेछ, अस्पताल र स्वास्थ्यकर्मीका समस्या समाधानका लागि मन्त्रालयसँधै तयार छ, तपाईंहरुले सेवामा कन्जुस्याइँ नगर्नुहा,´ मन्त्री थापाले भने।
उनले अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीलाई एप्रोन र परिचयपत्र अनिवार्य रुपमा लगाउन निर्देशन समेत दिए। अनुगमनलाई नियमित बनाउने र सेवा विस्तारलाई आवश्यक अध्ययनसहित अघि बढाउने उनको भनाई छ।
मन्त्री थापाले आँखा सेवामा सुधार गर्दै अन्य आँखा अस्पतालहरुसँग समन्वय गरी १३ वटा अस्पतालमा सेवा विस्तार गर्ने योजना बनाइनेसमे बताए।
बकुलहर रत्ननगर अस्पतालमा ग्रामीण भेगका सेवाग्राहीको चाप बढी रहेकाले सेवाको गुणस्तर कम हुन नदिने उनले प्रतिबद्धता जनाए।
मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले प्रदेश सरकारको ध्यान स्वास्थ्य सेवा सुदृढीकरण गर्नेतर्फ केन्द्रित रहेको बताउँदै आगामी दिनमा अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय बनाउने बताइन्।



