भक्तपुर। काठमाडौंबाट नगरकोट जान सिधा बस सेवा सुचारु भएको छ।
शुक्रवारबाट काठमाडौं–भक्तपुर–नगरकोट बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो। चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बस सेवाको उद्घाटन गरेका हुन्।
नगरकोट काठमाडौं उपत्यकाको चर्चित पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यहाँका बासिन्दा र पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै सिधा बस सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख खत्रीले जानकारी दिए।
सिधा बस सुचारु भएसँगै अब नगरकोटसम्म सहज रूपमा यात्रा गर्न पाइने भएको छ। यस्तै बस सेवाले काठमाडौं, भक्तपुर र नगरकोटबीचको यातायातलाई व्यवस्थित गर्दै यात्रुहरूको समय र खर्च बचत गर्ने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।



