मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नगरपालिकाको तालिमले उद्यमी बने महिला : गुन्द्रुक र सिस्नोको ब्राण्डिङ, जापान र हङकङमा बिक्री

नगरपालिकाको तालिमले उद्यमी बने महिला : गुन्द्रुक र सिस्नोको ब्राण्डिङ, जापान र हङकङमा बिक्री

images
२०८१ फाल्गुण २६ गते, सोमवार
२०८१ फाल्गुण २६ गते, सोमवार
  • बागलुङ। यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए। घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरू अहिले आर्थिक रूपमा सबल बनेका छन्।

    images

    जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन्।

    images

    रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आबद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन्। सहकारीमा आबद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन्।

    स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यावसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताइन।

    तालिम लिनु पूर्व वनजङ्गल र बारीमा भएका बाँको, सिस्नो खेर गएकामा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उनको भनाइ छ। तालिमले यहाँका महिलालाई व्यावसायिक बनाएको पुनले बताइन्।

    उनले भनिन्, “बाँको त हाम्रो जङ्गलमा जति पनि पाइन्छ, सिस्नोले बारीनै ढाक्छ, पहिले यतिकै खेर गएका ती वस्तुहरू अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि पैसामा बिक्री हुन्छ, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ, गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ।”

    आफूहरूले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमीलगायतका स्थानीय उत्पादन जापान, हङकङसम्म पुग्ने गरेको उनको भनाइ छ। मागअनुसार बजारमा उत्पादन पठाउन सकेको पुनले बताइन्। गत वर्ष रु चार लाखको सिस्नोको पाउडर, रु दुई लाखको गुन्द्रुक र दुई लाखको सिमी बिक्री गरेको उनको अनुभव छ।

    जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरी बजारीकरण गर्न थालेको बताए।

    नगरपालिकाले तालिमसहित आलु काट्ने, प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि महिला सक्रिय बनेको उनको भनाइ छ।

    महिलाले सुरुमा करिब रु २० लाख लगानीमा प्याकेजिङसहितको मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए। पछिल्लो समय देश विदेशबाट उनीहरूको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमी उत्साहित बन्दै गएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend