बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अब काठमाडौँ उपत्यकामा राति १२ बजेसम्म चल्छन् साझा बस, २८ बसले ६ नयाँ रुटमा सेवा दिने

अब काठमाडौँ उपत्यकामा राति १२ बजेसम्म चल्छन् साझा बस, २८ बसले ६ नयाँ रुटमा सेवा दिने

images
२०८३ भाद्र २९ गते, सोमवार
२०८३ भाद्र २९ गते, सोमवार
  • काठमाडौँ। रात्रिकालीन यातायात सेवा सञ्चालनका लागि अन्तर नगर सहकार्य, समन्वय र साझेदारिताको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका पुगेकी छन्।

    images

    छलफलका लागि उनी प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, निर्देशक वसन्त आचार्य, साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेल, कार्यकारी निर्देशक भुपेन्द्र अर्यालसहित गएकी हुन्। त्यस क्रममा उनले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापती, उपप्रमुख रजनी जोशी, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसँग भेटेर छलफल गरिन।

    images

    ‘आज म रात्रिकालीन यातायात सञ्चालन गर्न सहकार्य अगाडि बढाउने एजेन्डा नै बोकेर आएकी हूँ। यो ट्रान्सबाउन्ड्री इस्यु हो। यसलाई कुनै भुगोल वा प्रशासनिक सीमाभित्र सीमित गरिनुहुँदैन। उपत्यकाको जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई वृद्धि गर्न जुन पालिकामा रात्रिकालीन यातायात सञ्चालन हुन्छ। ती नगरपालिकाहरुले अपनत्व हुने गरी सेवा थाल्ने विषयमा हामीले धेरै चरणमा छलफल गरिसकेका छौँ। यसका लागि ३ महिनाको परीक्षण पनि गरेका छौँ। यसबाट अन्तरनगर साझेदारिताबाट रात्रिकालीन बस सेवा सञ्चालनका सम्भावना देखिएको छ। यसमा सहकार्य गरौँ।’ भेटघाटमा कार्यवाहक प्रमुख डंगोलले भनिन्।

    कार्यवाहक प्रमुख डंगोलको प्रस्ताव सुनेपछि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतीले ट्रली बस सञ्चालन हुँदाको अनुभव स्मरण गर्दै भने, ‘ट्रली बस सञ्चालन हुँदा काठमाडौँ र भक्तपुर राम्ररी जोडिएका थिए। स्थानीयलाई आवातजावत गर्न धेरै सजिलो थियो। जब, नियोजित रुपमा ट्रली बस समाप्त गरियो। त्यसपछि सार्वजनिक यातायातमा समस्या बढ्न थाल्यो। साँझ पर्न थालेपछि त झन कठिन भयो। यसकारण काठमाडौँ महानगरपालिकाले अगाडि सारेको व्यवस्थित सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव सकारात्मक छ। यो प्रस्तावमा हामी आन्तरिक छलफल गर्छौँ।’ 

    उनले यसप्रकारको सेवा अति जरुरी रहेको बताउँदै यस प्रकारको सेवालाई केवल नाफा–घाटाको दृष्टिले मात्र हेर्न नहुने धारणा राखे।

    `भक्तपुरबासीहरुको काठमाडौँ र ललितपुरबासीसँग घरजम छ। साँझमा सार्वजनिक यातायात सहज नहुँदा घर माइत आवतजावत गर्न, संस्कार, संस्कृति र परम्परालाई धान्न कठिन भइरहेको थियो। भक्तपुर नगरपालिका उपप्रमुख जोशीले भने, ‘यो जरुरी सेवा हो। सबैले दायित्व लिएर सञ्चालन गर्नुपर्छ।’

    साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुशिल प्याकुरेलले स्थानीय सरकारको साझेदारितामा साझा यातायात सञ्चालन हुने भएपछि यात्रुहरुमा सुरक्षाप्रति आत्मविश्वाश हुने बताए। जसले यात्रुको संख्यामा पनि वृद्धि गराउने उनको भनाइ छ।

    ‘यो कार्यका लागि काठमाडौँ महानगरपालिकाले लिएको नेतृत्वबाट श्रमिक र विद्यार्थी वर्गका बिचमा सार्वजनिक यातायातको सहज पहुँच बढ्नेछ। रात्रि व्यवसाय सञ्चालन गर्ने व्यवसायी, बिरामी तथा आन्तरिक पर्यटकलाई सहज हुनेछ।’ उनले भने।

    यो सेवा असोज ३ गतेदेखि सुरु हुनेछ। सेवा राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्ने योजना छ । यो सेवाबाट यात्रुहरुलाई थप सहजता प्रदान गर्न पालिकाहरुका विभिन्न स्थानमा चार्जिङ् स्टेशन बनाएर राती त्यही स्टेशनमा राख्ने र विहान सबेरैदेखि विद्यार्थी लक्षित सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

    साझा यातायातमा नेपाल सरकारको ३ अरब रुपियाँ, काठमाडौं महानगरपालिकाको १५ करोड रुपियाँ शेयर लगानी छ। अहिले साझा यातायातमा १११ वटा बस छन् । छलफलमा वडाध्यक्ष श्यामकृष्ण खत्री, हरिराम सुवाललगायत अधिकारी सहभागी थिए।

    भक्तपुर नगरपालिकापछि कार्यवाहक प्रमुख मध्यपुर थिमी नगरपालिका पुगेकी थिइन्। त्यहाँ नगर प्रमुख र उपप्रमुखसँग साझेदारिताको प्रस्ताव राखेपछि नगर प्रमुख र उपप्रमुख दुवै जनाले सराहनीय काममा साझेदारी गर्न आफूहरु इच्छुक रहेको बताएका थिए।

    नगर प्रमुख श्रेष्ठले भने, ‘पहिले त मध्यपुर साह्रै सुगम थियो। ट्रली बस सकिएसँगै हामी दुर्गम ठाउँको जस्तो भयौँ। काठमाडौँ महानगरपालिकाको रात्रिकालीन यातायात सञ्चालन गर्ने योजनाले हामीलाई पुनः सुगमता प्रदान गर्नेछ। यसमा सहकार्य गर्न प्रतिवद्ध छौँ।’

    असोज ३ गतेदेखि साझा यातायातका २८ वटा विद्युतीय बसबाट उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गरिनेछ। यसअन्तगृत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन्।

    चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend