चितवन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ।
आइतबार नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै कृष्ण भीरमा परिक्षणका रुपमा २० वटा सवारीसाधन पास गराइएको छ।
`ट्र्याक खोली परीक्षणका रूपमा आइतबार साँझ काठमाडौँ-चितवनतर्फ एउटा बुलेटसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ।´ सडक डिभिजन भरतपुरले भनेको छ।
त्यसैगरी, चितवन-काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत पास गराइएको छ। सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी रहेको पनि सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पृथ्वी राजमार्ग अन्तरगत धादिङ जिल्लाका केही स्थानमा सडकमा लेदो थुपारेपछि यो राजमार्ग बन्द थियो।
त्यसपछि भदौ १४ गते फेरि भोटेकोशीमा पानीको बहाब बढ्दा त्रिशूली नदी पनि बढ्न गई कृष्णभीरमा सडक कटान गरेको थियो। जसका कारण संघीय राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प रहँदै आइरहेको थियो।



