काठमाडौँ। रसुवाको भोटेकोशीले बगाएको नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान कार्य सकिएको छ। नेपाली सेनाको टोलीले सो पुल जडान गरेको हो।
भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडिबाट एक्रो ब्रिज जडानको कार्य सुरु गरेको थियो।
सो पुल जडानका लागि सेनाको ५५ जनाको टोली निरन्तर खटिएको थियो। नयाँ पुल जडान भएसँगै आज (बिहीबार) देखि नै पैदलयात्रीहरूका लागि पुलमा आवतजावत खुला गरिंदैछ भने भोलि शुक्रबारदेखि सवारी साधनहरूसमेत सञ्चालनमा आउने छन्।
यसअघि भोटेकोशीको बाढीले सो स्थानमा रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।



